ऐरीछाना–धनथला सडकको ट्रयाक खुल्यो

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको ऐरीछानादेखि लेकम गाउँपालिकाको मध्य भाग भएर बैतडीको सीमा क्षेत्र चमेलिया नदी किनारसम्म जोड्ने ऐरीछाना धनथला सडकको ट्र्याक खुलेको छ । लेकम गाउँपालिकाले रातामाटा कुणी क्षेत्रमा सडकको ट्र्याक खोलेसंगै ऐरीछाना धनथला सडक जोडिएको हो ।

लेकम गाउँपालिकाले लेकमको वडा नम्बर २ कुणी देखि रातामाटा कैनोडा बन्साडी सम्म गाउँपालिकाको बजेटले तेल खरिद गरेर गाउँपालिकाकै स्काइभेटर मेसिन र जनशक्तिले काम गरेर सडकको ट्र्याक खोलेको छ । लेकमको वडा नम्बर २ सडक सञ्जालमा जोडिएसंगै लेकम गाउँपालिकाका सबै छ वटै वडामा सडकमार्गको पहुँच पुगेको छ ।

सडक पुगेको सबै वडामा स्तरोन्नतीको आवश्यकता रहेको स्थानीयको भनाई छ । गाउँगाउँमा सडक पुगेकोमा स्थानीय हर्षित छन् । यद्धपी गुणस्तरीय सडक नहुँदा यातायातका साधन पुग्न र यात्रा गर्न निकै जोखिमपूर्ण छ । लेकम गाउँपालिकाले सडकमार्ग निर्माणमा ठूलो काम गरेको भएपनि स्तरोन्नतीमा ध्यान दिनु आवश्यक रहेको छ ।

लेकमको मध्य भाग भएर महाकाली लोकमार्गसंग जोडिने ऐरीछाना धनथला सडक निर्माण तथा स्तरोन्नतीको कामलाई सरकारले प्राथमिकतामा नराख्दा लेकमबासीले जिल्ला सदरमुकाम खलंगा जान ऐरीछानासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता छन् । सुदूरपश्चिम प्रदेश सरकारले बहुबर्षिय ठेक्कामा बजेट व्यहोर्ने गरी निर्माणाधीन ऐरीछाना धनथला सडकमा बजेट कम हुँदा सन्तोषजनक काम हुन सकेको छैन् । सडक स्तारोन्नती र थप बजेट व्यवस्थापनका लागि सरकारले ध्यान दिनु आवश्यक रहेको छ ।

ऐरीछाना धनथला सडकको ट्र्याक खुलेपनि धनथलामा चमेलिया नदीमाथि मोटरेबल पुल नबन्दासम्म यातायातका साधनहरु बैतडीबाट सिधै लेकम आउन सम्भव छैन् । कुनै बैकल्पिक व्यवस्था वा चमेलियामा मोटरेबल पुल तत्काल निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार