मालिकार्जुन जात्रालाई लक्षित गर्दै सवारी चेकजाँचमा कडाइ

दार्चुला । मालिकार्जुन राष्ट्रिय धाममा सोमबार लाग्ने रात्रिकालीन जात्रालाई लक्षित गर्दै सवारी साधन चेकजाँचमा कडाइ गरिएको छ । जात्राको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीले खलंगा, गोकुलेश्वरलगायत जिल्लाका विभिन्न स्थानमा सवारी साधनमाथि निगरानी तथा चेकजाँच बढाएको हो ।

जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले प्रहरीले मादक पदार्थको ओसारपसार, सेवन तथा बिक्रीवितरणमा समेत कडाइ गरेको छ । विशेषगरी जात्रामा सहभागी हुन जाने यात्रु तथा सवारी साधनलाई लक्षित गर्दै प्रहरीले चेकजाँचलाई तीव्र बनाएको छ ।

चेकजाँचका क्रममा सवारी साधनबाट मादक पदार्थ तथा अन्य अवैध वस्तु ओसारपसार भए नभएको, चालकले मादक पदार्थ वा लागुऔषध सेवन गरे नगरेको तथा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको अवस्थाबारे निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरज भाटका अनुसार जात्राको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्लाभर सवारी साधन चेकजाँचलाई थप कडा बनाइएको हो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नियमित निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइने उनले बताए ।

प्रहरीले यात्रु तथा चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नबोक्न तथा कुनै पनि अवैध वस्तुको ओसारपसार नगर्न आग्रह गरेको छ ।

जिल्लाकै सबैभन्दा ठूलो धार्मिक जात्राका रूपमा परिचित मालिकार्जुन जात्रामा सहभागी हुन आइतबारदेखि नै विभिन्न क्षेत्रबाट भक्तजन मालिकार्जुन पुग्न थालेका छन् । सोमबार मालिकार्जुन मन्दिरमा रात्रिकालीन जात्रा लाग्ने भएकाले भक्तजनको आवागमन बढेसँगै सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको छ ।

मालिकार्जुन गाउँपालिकाकाे मडमा बसेकाे सर्वपक्षीय बैठकले जात्रा अवधिभर मदिरा बिक्रीवितरणमा कडाइ गर्ने निर्णय गरेकाे थियाे ।

सम्बन्धित समाचार

ताजा समाचार