दार्चुला । आगामी निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको तयारी थालिएको छ ।

जिल्लाका नौवटा स्थानीय तहका ६१ वटै वडामा कायम रहेका ११२ मतदान स्थल र १४३ मतदान केन्द्र पुनरावलोकन गर्नुपर्ने भए सिफारिससहित निर्णय गरी मङ्सिर २५ गतेभित्र जिल्ला निर्वाचन कार्यालयमा पठाउन पत्राचार गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार निर्वाचन आयोगको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमअनुसार जिल्लामा पनि प्रक्रिया अघि बढाइएको हो ।

पुनरावलोकनका लागि मङ्सिर ४ गतेभित्र स्थानीय तहमा रहेका वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई पत्राचार गर्ने निर्णय गरिएको उनले बताए ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
वडा स्तरबाट प्राप्त निर्णय तथा प्रमाणित अनुसूचीहरूको विवरण एकीकृत गरी जिल्ला निर्वाचन कार्यालयले मङ्सिर २९ गते जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमा पेश गर्ने निर्णयसमेत गरिएको धामीले जानकारी दिए।
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनका क्रममा स्थानीय तहका वडामा आवश्यक सहयोग तथा समन्वय गर्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले स्थानीय स्तरमा रहेका आफ्ना प्रतिनिधिलाई जानकारी गराउने निर्णय गरिएको छ ।
जिल्लामा २०८३ भदौ १५ गतेसम्म सङ्कलित मतदाता नामावलीअनुसार ९२ हजार ९२७ मतदाता रहेका छन् । हाल मतदाता नामावली सङ्कलन, अद्यावधिक तथा शुद्धीकरणको कामसमेत जारी रहेको निर्वाचन अधिकारी धामीले बताए ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दल, उम्मेदवार र स्थानीय मतदाताको सहमतिमा सम्बन्धित मतदान केन्द्र अस्थायी रूपमा सार्न सकिने व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४ (३) बमोजिम अस्थायी मतदान केन्द्र कायम गरेको छ ।
उहाँले जानक
यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका १४३ मतदान केन्द्रमध्ये सुरक्षा संवेदनशीलताका आधारमा २२ मतदान केन्द्रलाई अतिसंवेदनशील, ४१ मतदान केन्द्रलाई संवेदनशील र ७८ मतदान केन्द्रलाई सामान्य सूचीमा राखिएको थियो ।









