दार्चुला । लामो समयदेखि दुहुँ गाउँपालिकाको अध्यक्ष पदका लागि राजनीतिक तयारी गर्दै आएका इन्जिनियर बिरेन्द्र बडाल (बिरू) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

बडाललाई रास्वपा दार्चुलाका जिल्ला सभापति राजेश सिंह सामन्तले पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन्। पार्टी प्रवेशसँगै बडालले दुहुँको विकास, समुन्नति, जनताको अधिकार र स्थानीय समस्यालाई संगठित रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टी प्रवेशपछि आफ्नो धारणा सार्वजनिक गर्दै बडालले आफू यसअघि कुनै पनि राजनीतिक दलको औपचारिक सदस्य नरहेको उल्लेख गरेका छन्।

चुनावका बेला आफूले विश्वास गरेका उम्मेदवारलाई मतदान गर्दै आएको बताउँदै उनले विभिन्न शुभचिन्तक तथा संगठनसँग जोडिए पनि औपचारिक रूपमा पार्टी सदस्यता भने नलिएको बताएका छन्।
उनले रास्वपामा प्रवेश गर्नु केवल पार्टी परिवर्तन नभई दुहुँका जनताले मनभित्र दबाएर राखेका अपेक्षा, आवाज र परिवर्तनको चाहनालाई संगठित रूपमा बुलन्द गर्ने नयाँ सुरुवात भएको बताएका छन्।
बडालले आफ्नो राजनीतिक उद्देश्य कुनै व्यक्ति, गुट वा दलप्रतिको प्रतिशोध नभई दुहुँको विकास, एकता, समुन्नति र जनताको सम्मान रहेको बताएका छन्। विभाजनभन्दा सहकार्य, टकरावभन्दा समन्वय र आरोपभन्दा समाधानमुखी कामलाई प्राथमिकता दिने उनको भनाइ छ।
सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सञ्चार तथा आधारभूत सेवाका क्षेत्रमा दुहुँवासीले वर्षौँदेखि भोग्दै आएका समस्या र उठाउँदै आएका आवाजलाई संगठित रूपमा सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन्।
राज्यको संरचना र राजनीतिक प्रणालीभित्र व्यक्तिगत आवाजभन्दा संगठित आवाज बलियो हुने भएकाले जनताका समस्या प्रभावकारी रूपमा उठाउन आफू संगठनमा जोडिएको बडालले बताएका छन्।
‘दुहुँका जनताको हित, अधिकार र समुन्नतिका लागि हामी एक रत्ती पनि पछि हट्ने छैनौँ। यो यात्रा पदका लागि मात्र होइन, परिवर्तनका लागि हो। व्यक्तिगत स्वार्थका लागि होइन, साझा भविष्यका लागि हो,’ उनले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
उनले दुहुँको विकासका लागि एकता, जनताको आवाजका लागि संगठन र समुन्नत भविष्यका लागि सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ‘जोडिन्छौँ र जोड्छौँ, दुहुँको समुन्नतिका लागि एकजुट भएर लड्छौँ’ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।









