दार्चुला । नेपाल–भारत जोड्ने पुल तथा सडक निर्माणमा काम गरेबापतको रकम भुक्तानी नपाएको भन्दै दार्चुलाका एक निर्माण व्यवसायीले पुलमै धर्ना दिने चेतावनी दिएका छन् ।

रकम भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत भारतीय प्रशासनसँग समन्वय तथा सहजीकरण गरिदिनसमेत आग्रह गरेका छन् ।

महाकाली नगरपालिका–४, दार्चुलास्थित एडभान्स प्रिकास्ट एन्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक अकबर सिंह सामन्तले पुल निर्माण योजनामा काम गरेबापत लामो समयदेखि भुक्तानी नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका हुन् ।

निवेदनअनुसार महाकाली नगरपालिका-८ स्थित सिगाडा क्षेत्रमा निर्माणाधीन नेपाल–भारत जोड्ने पुल निर्माण योजनामा भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट्स लिमिटेड तथा त्यसका सबकन्ट्र्याक्टर भुपिन्दर सिंह ग्वाल कन्ट्र्याक्टरसँग सम्बन्धित निर्माण कार्यमा नेपाली कम्पनीले सामग्री आपूर्ति गर्नुका साथै नेपालतर्फको पहुँचमार्ग निर्माण गरेको थियो ।
उक्त काम गरेबापत १५ लाख ७१ हजार भारतीय रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको निर्माण कम्पनीको दाबी छ । लामो समयदेखि रकम भुक्तानी नहुँदा मजदुर तथा कामदारको ज्याला व्यवस्थापनमा समेत समस्या भएकाे उनले बताए ।
भुक्तानीका लागि सम्बन्धित निर्माण कम्पनी तथा ठेकेदारसँग पटक–पटक आग्रह गर्दा पनि रकम प्राप्त नभएपछि सामन्तले भारतीय प्रशासनसँग आवश्यक पहल, समन्वय तथा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गरेका हुन् ।
निर्माण व्यवसायीको निवेदनपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय उपजिल्ला अधिकारीलाई पत्राचार गर्दै बाँकी रकम भुक्तानीका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माेहनसिह धामीले निर्माण व्यवसायीकाे निवेदन सहित भारतीय प्रशासनलाई पत्रचार गरेका छन् ।
निर्माण व्यवसायी सामन्तले लामो समयदेखि रोकिएको रकम भुक्तानी नभए पुल सञ्चालनमा अवरोध गर्ने र पुलमै धर्ना बसेर विरोध जनाउने चेतावनी दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा उक्त पुल उद्घाटन हुने अवस्था आए आफू ब्यानरसहित निर्माणस्थलमै धर्ना बस्ने उनले बताए ।
`रकम भुक्तानी नभए पुल उद्घाटनकै समयमा ब्यानरसहित त्यही क्षेत्रमा धर्ना बस्छु,´ सामन्तले चेतावनी दिए ।









