दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने मोटरेबल पुलको नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साेमबार संयुक्तरुपमा भर्चुअल माध्यमद्धारा उद्घाटन गर्ने भएका छन् । भारत भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीले पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको हाे ।

भारतको धारचुला तहसिलका तहसिलदार दमनशेखर राणाका अनुसार समय भने तोकिसकिएको छैन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार साेमबार मध्यान १२ बजेदेखि १ बजेको बीचमा पुल उद्घाटन हुने छ । पुल उद्घाटनको क्रममा नेपालतर्फ भने कुनै कार्यक्रम तय गरिएको छैन ।
दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा मोटरेबल पुलको उद्घाटन गर्ने भएपछि पुल क्षेत्रमा साजसज्जा र भर्चुअल प्रविधिका लागि तयारी गरिएको भारतीय प्रशासनले जनाएको छ । पुलको उद्घाटनका लागि सबै तयारी पुरा गर्न केन्द्र सरकारबाट पत्राचार भएको राणाले बताए ।
भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको मोटरेबल पुलको शिलन्यास आव ०७९-८० असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गरेका थिए । भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पन्जाब ३२ करोड ९८ लाख भारतीय रुपियाँमा निर्माण गरेको उक्त पुलको उद्घाटन गरिन लागेको हो ।
मोटरेबल पुलको उद्घाटन हुने भएपछि नेपालतर्फको पुल छेउमा प्रहरी, सशस्त्र प्रहरी र भन्सार बस्नका लागि तत्कालको लागि अस्थायी संरचना निर्माण गर्न लागिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।
महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो दुई लेनको पुलले सुदूरपश्चिमका पहाडी जिल्लालाई भारतसँग सडक सञ्जालमार्फत जोड्नेछ । पुल सञ्चालनमा आएपछि दार्चुलासहित बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई भारत आवतजावत गर्न सहज हुनेछ । सीमा नदी महाकाली नदीमा झोलुङ्गे पुल र तुइनको सहायताबाट जोखिमपूर्ण रूपमा सीमापार गर्नुपर्ने बाध्यता रहेको अवस्थामा मोटरेबल पुल सञ्चालनले आवागमनलाई केहि सहज बनाउने अपेक्षा यहाँका स्थानीयले गरेका छन् ।
पुल सञ्चालनसँगै नेपाल र भारतबीचको व्यापारिक गतिविधि विस्तार हुनुका साथै स्थानीय कृषि उपज, जडीबुटी तथा अन्य कृषि उत्पादनको सीमापार व्यापारमा सहयोग पुग्ने यहाँका व्यापारीहरुले अपेक्षा गरेका छन् । भारतबाट नेपाल आउने पर्यटकहरु सुदूरपश्चिमका धार्मिक एवं पर्यटकीय स्थलसम्म सडकमार्फत आवतजावत गर्न सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।










