दार्चुलाको प्रसिद्ध मालिकार्जुन जात्रा आज, सुरक्षा व्यवस्था कडा

दार्चुला । दार्चुलाको प्रसिद्ध धार्मिक स्थल मालिकार्जुनमा आज रात्रिकालीन जात्रा लाग्दैछ । जात्रामा सहभागी हुन जिल्लाका विभिन्न क्षेत्र तथा भारतबाट समेत भक्तजन आइतबारदेखि नै मालिकार्जुन क्षेत्रमा पुग्न थालेका छन् ।

जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्र तथा राष्ट्रकै सातौँ धामका रूपमा परिचित मालिकार्जुनमा आइतबार शैल्यशिखर पूजन जात्रा सम्पन्न भएपछि राति मालिकार्जुन मन्दिरमा रात्रिकालीन जात्रा लाग्ने परम्परा छ । जात्रामा विभिन्न क्षेत्रबाट भक्तजनले दमाहा बाजा ल्याएर सहभागी हुने भएकाले दमाहा बजाउने समूहबीच एक प्रकारको प्रतिस्पर्धात्मक माहोलसमेत देखिने गर्दछ ।

मालिकार्जुन रात्रिकालीन जात्रालाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले आज सार्वजनिक बिदा दिएका छन् । जात्राको तयारी तथा व्यवस्थापनका लागि पूजा–पाठ, आराधना, सांस्कृतिक कार्यक्रम, दमाहा जात्रा व्यवस्थापन, प्रचारप्रसार, खानेपानी, शान्ति सुरक्षा, विद्युत्, आवास, यातायात तथा ट्राफिक व्यवस्थापन, पार्किङ, होटल व्यवस्थापन र सरसफाइलगायतका पक्षमा तयारी गरिएको छ ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जात्राको मर्यादा, गरिमा र धार्मिक महत्त्व कायम राख्दै व्यवस्थित रूपमा सम्पन्न गर्न सबैको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन् । जात्रालाई आध्यात्मिक, मनोरञ्जनपूर्ण र भक्तिभावले भरिपूर्ण बनाउन जात्रा व्यवस्थापन तथा मन्दिर व्यवस्थापन समितिले समेत आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

जात्रालाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । जात्रा क्षेत्रमा मदिरा सेवन तथा बिक्रीवितरण पूर्ण रूपमा निषेध गरिएको छ भने रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भक्तजनको सहज आवागमन, धार्मिक गतिविधि तथा शान्ति सुरक्षालाई ध्यानमा राख्दै व्यवस्थापन पक्षले आवश्यक सतर्कता अपनाएको छ ।

मालिकार्जुनको रात्रिकालीन जात्रा दार्चुलाको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा लिइने गरेकाे अध्यक्ष धामी बताउँछन् ।

सम्बन्धित समाचार

ताजा समाचार