दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिबीमा लाग्ने मेला आजदेखि औपचारिकरुपमा सुरु हुने भएको छ । आज बाट संञ्चालन हुने जोलजिबी मेलाको तयारी पुरा भइसकेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।
जोलजिबी मेलाको उद्घाटनका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह दार्चुला आइपुग्नुभएको छ । मुख्यमन्त्री शाहले मेला उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल–भारत सीमा क्षेत्र जोलजिबी र जौलजिबी बजारमा हरेक वर्ष सास्कृतिक तथा व्यापार मेला लाग्दै आएको छ । काली र गोरी नदीको संगम जोलजिबीमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गरेको हो । जोलजिबी मेलामा मालिकार्जुन गाउँपालिकाले यो वर्ष ६ लाख रुपैँया बजेट विनियोजन गरेको छ ।
मेलामा मालिकार्जुन गाउँपालिकाले अन्तर वडास्तरिय सास्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । प्रतियोगितामा पालिकाभरीका ८ वटै वडाहरुमा रहेका विभिन्न सांस्कृतिक प्रतिभा तथा कार्यक्रमहरु संञ्चालन हुने गाउँपालिका गाउँपालिकाका कर्मचारी लोकेन्द्रसिंह धामीले बताउनुभयो । सांस्कृतिक कार्यक्रममार्फत मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । मेलामा गायन एकल र सामुहिक, बाध्यबाधन, नृत्य प्रस्तुती हुने बताइएको छ ।
मेलामा प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ८ हजार र तृतिय हुनेलाई ६ हजार पुरुस्कार दिइने छ । पालिकाको तर्फबाट प्रतेक वडालाई व्यवस्थापन खर्च स्वरुप ३० हजार बजेट उपलब्ध गराइनेछ ।
सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिबीमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको बताइन्छ । सोही सम्झनामा हरेक वर्ष मङ्सिर १ गते देखि जोलजिबी मेला लाग्दै आएको छ ।
जोलजिबी मेलामा जुम्ला तथा हुम्लाका घोडा, दैनिक उपभोग्य सामाग्री, भाडाकुडा, कपडा तथा खाद्यान्नको राम्रो ब्यापार हुने गरेको छ ।
मेला अवधिभर नेपाल भारत जोड्ने जोलजीबी पूल राती साढे १० बजेसम्म खुल्ला गर्ने दुबै देशका स्थानीय अधिकारीहरु विच सहमति भएको छ ।