दार्चुलामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

दार्चुला । ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान दार्चुलामा बुधबारदेखि सुरु भएको छ ।
महिला मानव अधिकार रक्षक सञ्जाल दार्चुलाको आयोजनामा सदरमुकाम खलंगामा अभियानको शुभारम्भ गरिएको हो । सञ्जालका अध्यक्ष गौरी बडालको अध्यक्षतामा अभियान सुरु गरिएको छ ।
कार्यक्रममा अध्यक्ष बडालले लैङ्गिक हिंसा अन्त्यका लागि सरकारसँगै परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम तथा नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको बताइन् । समाजमा हुने लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितको न्याय र संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको भन्दै सञ्जालले अभियान सञ्चालन गरेको उनको भनाइ थियो ।
अभियान शुभारम्भ कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अधिकारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अभियानको उद्देश्य, लैङ्गिक हिंसाको अवस्था तथा यसको न्यूनीकरणका उपायबारे अन्तरक्रिया गरिएको थियो । सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना अभिवृद्धि गर्दै अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस वर्षको १६ दिने अभियान जिल्लामा सुरु भए पनि सरकारी स्तरबाट भने जिल्लास्तरीय कार्यक्रम सञ्चालन भएको छैन ।

सम्बन्धित समाचार

ताजा समाचार