दार्चुला । पछिल्लो समय पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघकाे आयाेजनामा बुधबार देशभरका पत्रकार आन्दाेलित भएका छन्।

‘पत्रकारलाई पटक–पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित पत्रकार महासंघ दार्चुलाले समेत जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम आयोजना गरेको पत्रकार महासंघ दार्चुलाका सचिव सुन्दरसिह धामीले बताए ।

सचिव धामीका अनुसार मिडिया हाउसको गेटमा गाडी तेर्स्याएर राख्ने, सञ्चारमाध्यममा धरपकड गर्ने, पत्रकारलाई गिरफ्तार गर्ने, लोककल्याणकारी विज्ञापनको रकम काट्ने तथा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने कार्यको विरोध गरिएको हो।

त्यस्तै, सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी बन्द गर्न पनि महासंघले माग गरेको छ।
सहभागी पत्रकारहरूले पत्रकारलाई समाचार संकलन तथा सम्प्रेषण गर्ने क्रममा निर्वाध रूपमा काम गर्न पाउनुपर्ने माग गरेका छन् ।









