दार्चुला । दुहुँ गाउँपालिका–३ बारबाजस्थित जनविकास माध्यमिक विद्यालय बारबाजमा निर्माण सम्पन्न भएको चारकोठे विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

बुधबार एक समारोहका बीच दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिह बडालले नवनिर्मित विद्यालय भवनको औपचारिक उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गरिएको हो।

विद्यालयको भौतिक पूर्वाधार विकाससँगै विद्यार्थीलाई गुणस्तरीय, सहज र सुरक्षित शिक्षण सिकाइको वातावरण उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको हो। नवनिर्मित भवनले विद्यार्थीको पठनपाठनमा सहजता ल्याउनुका साथै विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अध्यक्ष बडालकाे भनाइ छ ।

दुहुँ गाउँपालिकाले शिक्षा क्षेत्रको विकास तथा विद्यालयहरूको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर काम गर्दै आएको जनाएको छ। भवन निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण पक्षलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।










