दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ स्थित उकु महल क्षेत्रमा १५ औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन् । पुरातत्व विभागले जारी राखेको उत्खनन कार्यका क्रममा मन्दिरसम्बन्धी महत्वपूर्ण अवशेषहरू भेटिएका हुन् ।
वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती नेतृत्वको टोलीले उकु क्षेत्रमा उत्खनन गरिरहेको छ । पुरातत्व अधिकृत हरीप्रसाद भुसालका अनुसार उत्खननका क्रममा ठूलो संख्यामा कलात्मक शिला, विभिन्न मूर्ति, शिखर (गजुर) का अर्धभाग, ढुङ्गेधारा, बसाहा तथा सिंह आकृतिका पत्थरका अवयवहरू फेला परेका छन् ।


उनका अनुसार मध्ययुगीन समयमा निर्माण भएका शिव मन्दिरजस्ता संरचनाका अवशेष प्रशस्त मात्रामा भेटिएका छन् । उत्खननबाट प्राप्त संरचनाको स्वरूप हेर्दा यो क्षेत्र राजा बस्ने महलभन्दा पनि मन्दिर भएको प्रारम्भिक अध्ययनले संकेत गरेको पुरातत्व अधिकृत भुसालले जानकारी दिए ।


‘यहाँ शिखर वास्तुशैलीका जग र ढुङ्गा भेटिएका छन् । त्यसैले यो क्षेत्र मन्दिर परिसर हुन सक्ने प्रारम्भिक निष्कर्षमा पुगेका छौँ,’ उनले भने । पिपलबोट क्षेत्र आसपास उत्खनन गर्दा मन्दिरको जग भेटिएको र महल वा मन्दिर भन्ने विषयमा थप अध्ययन जारी रहेको उनको भनाइ छ । संवेदनशील उत्खनन कार्य भएकाले ढुङ्गाहरू नापजाँच गरी नम्बरिङ गर्ने काम भइरहेको छ ।
उत्खननका क्रममा भेटिएका केही महत्वपूर्ण मूर्तिहरू काठमाडौँस्थित छाउनी संग्रहालयमा संरक्षणका लागि लैजाने तयारी भइरहेको पुरातत्व विभागले जनाएको छ । ‘विश्वभरिका पर्यटकहरू संग्रहालय अवलोकन गर्न आउने भएकाले यहाँ भेटिएका उत्कृष्ट मूर्तिहरूको प्रचारप्रसारमा सहयोग पुग्नेछ,’ भुसालले भने ।

उनका अनुसार यस वर्ष गत वर्षभन्दा थप मूर्तिहरू फेला परेका छन् । ढुङ्गामा सूक्ष्म कलात्मक शैली प्रयोग गरी निर्माण गरिएका मूर्तिहरूले विशेष ध्यान आकर्षित गर्ने खालका छन् ।
उत्खननस्थलमा शिलालेख अंकित चट्टानहरू समेत स्पष्ट रूपमा देखिएका छन् । ढुङ्गा कुँदेर बनाइएका आकर्षक मूर्ति तथा संरचनात्मक अवशेषहरू भेटिनु महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

मालिकार्जुन गाउँपालिका–६ का वडा अध्यक्ष गोकर्णसिंह धामीले उत्खनन कार्य सकारात्मक भए पनि पर्याप्त बजेट अभाव चुनौती रहेको बताए । ‘एक महिनाको छोटो उत्खननले मात्रै यसको पुनर्निर्माण सम्भव छैन । निरन्तर अध्ययन र पर्याप्त बजेट आवश्यक छ,’ उनले भने ।

इतिहासविद्हरूका अनुसार कत्यूडी राजवंशको अन्त्यपछि १२ औँ शताब्दीमा पाल राजाहरू भारतको अस्कोट क्षेत्रमा बसोबास गर्ने गरेका थिए । रजबार भारती पालले उक्त क्षेत्रमा दरबार स्थापना गरेको हुन सक्ने अनुमान गरिएको छ ।
हालसम्म पनि उकु, लाली क्षेत्र तथा सीमावर्ती भारतीय क्षेत्र अस्कोटमा पाल समुदायको बसोबास रहेको पाइन्छ ।
धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावना
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उकु महल क्षेत्र धार्मिक तथा सांस्कृतिक पर्यटन विकासका लागि महत्वपूर्ण सम्भावना बोकेको बताए । पुरातत्व विभागले गरिरहेको उत्खनन क्षेत्रको अनुगमन गर्दै यस्तो बताएका हुन् ।
‘पर्याप्त बजेट विनियोजन गरी संरचनागत विकास गर्न सके यस क्षेत्रको ऐतिहासिक महत्व अझ उजागर गर्न सकिन्छ,’ उनले भने ‘अध्ययन अनुसन्धान र संरक्षणको कार्यमा राज्यले लगानी बढाउनुपर्छ ।’

गाउँपालिका अध्यक्ष हिरासिंह धामीका अनुसार गाउँपालिकाको समन्वयमा पुरातत्व विभागले पछिल्लो दुई वर्षदेखि निरन्तर उत्खनन तथा अनुसन्धान गरिरहेको छ । क्षेत्रलाई दीर्घकालीन रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको उनले बताए ।
उनका अनुसार यस क्षेत्रको पुनर्निर्माण गरी विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्य सहित काम भइरहेको छ । यसको इतिहास शैल्यमालिकार्जुनसँग जोडिएको भन्दै पुर्ननिर्माणपछि यहाँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बढ्ने उनको भनाई छ ।
उकु महलको इतिहास के हो ?
संरक्षणको पर्खाइमा रहेको उकु महल र उकु क्षेत्र मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा वैभवको केन्द्र थियो भन्ने एक प्रमाण उकु महलको भग्नावशेषलाई लिन सकिन्छ । कत्युरी राजवंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरुले अस्कोट, अजयमेरुकोट, दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ ।
उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरु रहेका छन् । मध्यकालीन कत्युरी राजाहरुको राजधानी रहेको उकुमा कत्युरी राजाहरूले नै महल निर्माण गरेको इतिहासका जानकार बताउँछन् ।
कत्युरी राजबंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरुले अस्कोट, अजयमेरुकोट दिपालयकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजवार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहासका जानकार बताउँछन् ।
इतिहासबारे जानकारहरुका अनुसार नाग पाल राजाले दरवारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेखहरु जम्मा गरेका थिए । अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, शिलालेखहरु हेर्दा दरवार भित्रको मन्दिर बनाउन जम्मा गरिएको हुन सक्ने ठम्याइ पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको इतिहासमा उल्लेख गरिएको छ ।
उकु ऐतिहासिक महत्वको स्थल हो भन्ने कुरा त्यहाँ भेटिने कोटघर, देवस्थल, दरवारको मजवुत किल्लाहरु, ढुगांमा कुदिएका विभिन्न भगवानको मुर्तिहरु, विभिन्न आकृतिका ढुगांहरुबाट प्रष्ट हुन्छ ।
दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरुले पुष्टि गरेको छ । उकुको ऐतिहासिक सम्वन्ध सीमावर्ती भारतको अस्कोटसँग छ । अस्कोटको इतिहासअनुसार सन् १२७९ मा अभय पाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए । अभय पालले वरपरका विभिन्न अस्सी कोटको एकीकरण गरेर अस्कोट नामाकरण गरेको इतिहासमा उल्लेख छ ।
निरै पालको ऐतिहासिक अभिलेख डोटी डडेल्धुरा, पिथौरागढको डिडिहाट र अल्मोडामा पनि भेटिएको छ । नेपालमा भेटिएको अभिलेख अनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । अल्मोडाको पहाडमा निरै पाल लेखिएको ढुंगा सन् १३५४ भेटिएको छ भनेर इतिहासका जानकारहरु बताउँछन् ।
यी सबै ऐतिहासिक काल क्रमहरु समान देखिएकोले उकु भग्नावशेषमा निरै पालको ऐतिहासिकता र राज्यकालबारे शंका गर्ने ठाउँ नभएको जानकारहरु बताउँछन् । निरै पाललाई उकु अस्कोटका राजा भनिएको छ । विभिन्न ठाँउहरुमा पाइएको ऐतिहासिक अभिलेखहरुले निरै पाल शक्तिशाली राजा भएको संकेत गर्छ । जसको केन्द्र महाकाली किनारमा अवस्थित उकु भएको कारणले यो स्थलको पुरातात्विक महत्वलाई वेवास्ता गर्न सकिदैन । निरै पाल उकुका रजवार भारती पालका पूर्ववर्ती राजवार थिए भन्ने कालक्रमहरुले प्रष्ट्याएको छ ।
उकुको इतिहास सम्बन्धी एउटा लेख अनुसार उकु कोटको खण्डहरुमा रहेको हरिहर मन्दिर नाग पालका तीनवटा रानीहरुले निर्माण गराएका थिए । नाग मल्ल डोटीका राजा थिए । डोटीको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोटमा रहेको थियो । नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म रहेको थियो । यसलाई आधार मान्ने हो भने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकालमा बनेको अनुमान गर्न सकिन्छ । तर, मन्दिर स्थापनाको स्पष्ट तिथि मिति भने भेटिएको भने छैन ।
तर, पाल वंशहरुको भरतीय शोधकर्ताहरुले उकु राज्य अभय पालले स्थापना गरेको नभएर नाग मल्लले गरेको उल्लेख गरेका छन् । यसको प्रमाणको रुपमा सन् १२३८ को उकुको शिलालेख हो भनिएको छ । आचार्य शिवप्रसाद डवरालको ‘उत्तराखण्डका ईतिहास’ भन्ने पुस्तकमा १०८० देखि १०९० ईसा पूर्वमा उकुको दरबार निर्माण भएको कुरा उल्लेख गरिएको छ ।
१६ औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुदिएका मूर्तिहरु देखिन्छन् । अहिले भग्नावशेष महलको उत्खनन् र खोजी नीति अनुसन्धानमै भइरहेको हँुदा यसको अन्तिम निचोड के आउँछ समयक्रमले पुष्टि हुँदै जाने छ ।










