दार्चुला — दार्चुलाको मालिकार्जुन गाउँपालिका बालविवाहमुक्त घोषणा गरिएको छ । आठ वटा वडा रहेको गाउँपालिकालाई तीन वर्षको चरणबद्ध अभियानपछि बालविवाहमुक्त पालिका घोषणा गरिएको हो । यो दार्चुला जिल्लाकै पहिलो तथा सुदूरपश्चिम प्रदेशको तेस्रो बालविवाहमुक्त पालिका बनेको छ ।
गाउँपालिकाले बालविवाहमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित २०७६ सालमै रणनीति तयार गरेको थियो । प्रारम्भिक चरणमा योजना अनुसार काम अघि बढ्न नसकेपछि २०७९ सालमा रणनीति संशोधन गरी अभियानलाई पुन संसोधन गरी बालविवाह गाउँपालिका घोषणा गर्न सफल भएको गाउँपालिका उपाध्यक्ष कल्यानसिह धामीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत सुरजप्रसाद जोशीका अनुसार चरणबद्ध रूपमा वडाहरूलाई बालविवाहमुक्त घोषणा गर्दै पालिकालाई पूर्णरूपमा बालविवाहमुक्त गरिएको छ । बालविवाह मुक्त पालिका बनाउन पालिकाभरिका ११ वटै माध्यमिक विद्यालयमा किशोरी समुह, बालसंरक्षण समिति, निगरानी समिति तथा बालक्लवहरुलाई विभिन्न तालिमको आयोजना गरिएको थियो ।


बालबालिका आफै अभियानको लागि अग्रसर भएपछि थप अभियान चाल्दै वडाहरुलाई क्रमश तीन वर्षको अवधिमा घोषणा गरिएको हो जसअनुसार २०८० सालमा वडा नं. २ र वडा नं. ६, २०८१ सालमा वडा नं. १, ३ र ८ तथा २०८२ सालमा वडा नं. ४, ५ र ७ को साथै गाउँपालिका घोषणा गर्न सफल भइएको जोशीले बताए ।
स्थानीय सरकारको सक्रियता तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा सामाजिक कुरीतिका रूपमा रहेको बालविवाह अन्त्य अभियानले सफल परिणाम दिएको जोशीको भनाई छ ।
घोषणासभामा बोल्दै गाउँपालिका अध्यक्ष हिरासिंह धामीले यो उपलब्धि गाउँपालिकाको इतिहासमा अत्यन्त गौरवपूर्ण क्षण भएको बताए । ‘हामीले मालिकार्जुन गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गर्न सफल भएका छौं । यो केवल घोषणा मात्र होइन, गाउँपालिकाका छोरीहरूको सुरक्षित भविष्यप्रतिको ठूलो प्रतिबद्धता हो,’ अध्यक्ष धामीले भने ।
उनले घोषणा कागजमै सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नु अबको मुख्य चुनौती रहेको पनि उल्लेख गरे । ‘प्रत्येक घर, प्रत्येक वडा र प्रत्येक विद्यालयमा बालविवाहविरुद्धको सन्देश पु¥याउन हामी अझ सक्रिय हुनुपर्छ,’ उनले थपे ।
जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू कस्यपले अनुगमनका क्रममा मालिकार्जुन गाउँपालिकामा बालविवाहविरुद्ध प्रभावकारी गतिविधि सञ्चालन भएको पाइएको बताए ।
उनले बालविवाह अन्त्य दिगो विकास लक्ष्यसँग जोडिएको महत्वपूर्ण विषय भएकाले अन्य स्थानीय तहले पनि यस्तो अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा पालिकाभरिका माध्यमिक विद्यालयका बालबालिकाले आ–आफ्नो प्रस्तुति राखेका थिए ।











