दार्चुलामा रक्तसञ्चार केन्द्र सञ्चालनमा, आपतकालीन सेवामा सहजता

दार्चुला — दार्चुलामा रक्तसञ्चार केन्द्र आइतबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको रक्तसञ्चार केन्द्र उपसमितिले औपचारिक उद्घाटन गर्दै सेवा सुरु गरेको हो ।
रक्तसञ्चार केन्द्रको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले गरेका हुन् । २०७३ सालमै स्थापना प्रक्रिया अघि बढेको केन्द्र पूर्वाधार अभावका कारण ढिलाइ भएको थियो ।
जिल्ला अस्पताल दार्चुलाले आफ्नै लगानीमा अस्थायी भवन निर्माण गरेपछि केन्द्र सञ्चालनमा सहजता भएको रेडक्रस दार्चुलाका सभापति गोपालसिंह महराले जानकारी दिए । केन्द्र सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकार, निजामती कर्मचारी, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाबाट आर्थिक तथा भौतिक सहयोग जुटाइएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै सांसद ठगुन्नाले रक्तसञ्चार केन्द्रलाई नियमित, व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । आवश्यक उपकरण तथा सामग्रीका लागि केन्द्र र प्रदेश सरकारमार्फत सहयोग गर्न तयार रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कर्मचारी तथा सुरक्षा निकायबाट संकलित सहयोग केन्द्रलाई हस्तान्तरण गरेका थिए । रक्तदान अभियानमार्फत सहयोग गर्दै आएका उनले उद्घाटनलगत्तै रक्तदानसमेत गरेका छन् ।
जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कस्यपले रगत सबैका लागि अपरिहार्य भएकाले यसको निरन्तरतामा सबैको साथ आवश्यक रहेको बताए । महाकाली नगरपालिकाकी उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले अब आकस्मिक अवस्थामा रगत अभावको समस्या कम हुने विश्वास व्यक्त गरिन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तोरणप्रसाद अवस्थीले अस्पतालभित्रै रक्तसञ्चार केन्द्र स्थापना हुनु गौरवको विषय भएको उल्लेख गर्दै व्यवस्थापनमा आवश्यक सहयोग गर्ने बताए । जिल्ला अस्पतालका डा. रबिन्द्र भट्टराईले केन्द्र सञ्चालनमा सबै निकायको सहकार्य महत्वपूर्ण रहेको बताए ।
सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार विगतमा रगत अभावका कारण बिरामीहरूले समस्या झेल्नुपरेको थियो । अब केन्द्र सञ्चालनमा आएसँगै आपतकालीन अवस्थामा सहज सेवा उपलब्ध हुने उनको भनाई छ ।
रक्तसञ्चार केन्द्र स्थापना अभियानमा २०७३ यतादेखि सहयोग पु¥याउने व्यक्ति तथा संघ–संस्थालाई नेपाल रेडक्रस सोसाइटीले सम्मान गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार