बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै

दार्चुला । देशभरका बालबालिकालाई आज र भोली भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आइतबार आज र भोली ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।

कार्यक्रम अन्तरगत दार्चुलामा पनि १० हजार भन्दा बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल खुवाइँदै छ । दार्चुलामा ६ महिनादेखि ५९ महिनासम्मका १० हजार ४ सय ५० जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख विरेन्द्र प्रसाद भट्टले बताए।

जिल्लाभरिका १२ देखि ५९ महिनासम्मका ९ हजार ४ सय ५ जना बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । जिल्लामा बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याम्पसुल र जुकाको औषधी खुवाउनका लागि ३ सय ७० जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको छ ।

आइतबार र सोमबार दुईदिन सम्म सञ्चालन हुने राष्ट्रिय भिटामीन ए कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएकाले सबैले आ–आफ्ना बालबालिकाहरुलाई नछुटाउन आग्रह गरिएको छ । आइतबार औषधी खुवाउन छुटेकाहरुलाई सोमबार खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार