निजी विद्यालयले खोले फागुनमै भर्ना, शिक्षा मन्त्रालय भन्छ– ‘पालिकाले कारबाही गर्न सक्छन्’

काठमाण्डाै – सरकारले वैशाख १ गतेदेखि मात्रै विद्यार्थी भर्ना अभियान शुरु गर्ने भए पनि कतिपय निजी विद्यालयले फागुनमै भर्ना खुला गरेका छन् । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने भएपनि निजी विद्यालयले झन्डै दुई महिनाअघि नै भर्ना शुरु गरेका हुन् ।

भक्तपुरको मातृभूमि माध्यमिक विद्यालयले फागुन १० गते नै सूचना निकालेर कक्षा नर्सरीदेखि कक्षा ८ सम्म भर्ना खोलेको छ । आलोक विद्याश्रम काठमाण्डौदेखि भक्तपुर, ललितपुर र काठमाण्डौका कैयौँ निजी विद्यालयले विद्यार्थी भर्ना अभियान शुरु गरेका छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा फागुनमै विद्यार्थी भर्ना गरेर गलत गरेको बताउनुहुन्छ । उहाँले सङ्घीयताको मर्मअनुसार शिक्षाको सम्पूर्ण जिम्मेवारी पालिकालाई भएकोले कक्षागत अन्तिम परीक्षाअघि नै भर्ना शुरु गर्ने विद्यालयलाई पालिकाले कारबाही गर्नुपर्ने बताउनुभयो ।

निजी तथा आवासीय माध्यमिक विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ कक्षा १ सम्मको भर्ना सरस्वती पूजादेखी शुरु भए पनि कक्षा १ भन्दा माथिल्लो कक्षामा अहिले नै भर्ना खुला गर्न नहुने बताउनुहुन्छ ।

निजी विद्यालयले कानुन विपरीत गरेका काममा सरकार मौन बसिदिँदा मनलाग्दी बढेको अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले बताउनुभयो । अहिले पढिरहेको कक्षाको अन्तिम नतिजा नै नआई अर्को कक्षामा भर्नाको आधार नहुने भएकोले सरकारले कडाइ गर्नुपर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार