दार्चुला । दार्चुलामा डेंगु संक्रमणको तथ्यांक पछिल्ला वर्षमा घट्दै गए पनि जोखिम भने कायमै रहेको भन्दै खाेज तथा नष्ट अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ देखि चालु आर्थिक वर्ष २०८३/८४ सम्म जिल्लामा १८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा सबैभन्दा धेरै १०३ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसमध्ये महाकाली नगरपालिकामा मात्रै ९३ जना संक्रमित भएका थिए ।

आर्थिक वर्ष २०८१/८२ मा संक्रमण घटेर ४३ जनामा पुगेको थियो । उक्त वर्ष महाकालीमा ३१, शैल्यशिखरमा ६ र मालिकार्जुनमा ६ जनामा संक्रमण देखिएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८२/८३ मा ३७ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये महाकालीका २७, व्याँसका पाँच, मार्माका दुई र शैल्यशिखरका तीन जना रहेका छन् । चालु आर्थिक वर्षकाे हालसम्म तीन जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । संक्रमितमध्ये महाकाली, व्याँस र मालिकार्जुनका एक–एक जना रहेका छन् ।
जोखिम बढ्दै गएपछि अभियान
संक्रमितको संख्या घट्दै गए पनि वर्षायाममा लामखुट्टेको प्रजनन बढ्ने भएकाले डेंगुको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जोखिम न्यूनीकरणका लागि लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गर्न सरोकारवालासँग शुक्रबार खलंगामा छलफल गरिएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार पहिलो चरणमा महाकाली नगरपालिकामा पाँचवटा टोली परिचालन गरी लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिनेछ ।
टोलीले खलंगाका विद्यालय, सार्वजनिक स्थान, ग्यारेज तथा घरघरमा पुगेर लामखुट्टेको बासस्थान र लार्भा खोजी नष्ट गर्नेछ ।
अभियानमा राजनीतिक दल, स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ । डेंगु नियन्त्रण तथा रोकथामका विषयमा स्वास्थ्यकर्मी, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई अभिमुखीकरणसमेत गरिनेछ ।
याे अभियान महाकाली नगरपालिकामा मात्रै नभइ जिल्लाभरि सञ्चालन गरिने भट्टले बताए ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पाैडेलले जिल्लाका सबै कार्यालयले अनिवार्य रूपमा साप्ताहिक रुपमा लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।
कार्यालय परिसर तथा आसपासमा पानी जम्न नदिने, लामखुट्टेको बासस्थान नष्ट गर्ने र नागरिकलाई डेंगुबाट बच्ने उपायबारे सचेत गराउन समेत निर्देशन दिएका छन्।
स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणका लागि घर, विद्यालय, ग्यारेज तथा सार्वजनिक स्थानमा पानी जम्न नदिन र लामखुट्टेको सम्भावित प्रजननस्थल नष्ट गर्न आग्रह गरेको छ । डेंगुका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनसमेत भट्टले आग्रह गरे ।
डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने पीडादायी र शरीरलाई कमजोर पार्ने संक्रामक रोग हो । यो रोग डेंगु भाइरसबाट सर्छ, जुन एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा प्रवेश गर्छ ।
डेंगुका धेरैजसो लक्षणहरू सामान्य भाइरल ज्वरोसँग मिल्दोजुल्दो हुने भएकाले धेरैजसो मानिसले ज्वरोलाई भाइरल भएको भन्दै बेवास्ता गर्छन् । कथंकदाचित दोस्रोपटक डेंगु भाइरसबाट संक्रमित व्यक्तिमा गम्भीर रोग लाग्ने जोखिम बढी हुन्छ ।
डेंगु ज्वरो लामखुट्टेको संक्रमणबाट हुने घातक रोग हो । तसर्थ, आफ्नो स्वास्थ्य सुरक्षित राख्न डेंगुको बारेमा बुझ्न धेरै महत्त्वपूर्ण छ । गर्मी र विशेषगरी वर्षायाममा डेंगु लगायतका लामखुट्टेबाट सर्ने रोगहरु बढ्छन् ।
नेपालका पछिल्लो केही वर्षदेखि गर्मी लागेसँगै डेंगुका बिरामी बढ्दै गएको देखिन्छ । डेंगुको संक्रमण भएमा प्लेटलेट्सको संख्या कम हुन थाल्छ । त्यसैले गर्मीयाममा ज्वरो आएमा डेंगुको जाँच गराउनुपर्छ ।
डेंगु भएमा ज्वरो बाहेक टाउको, मांसपेशी र जोर्नी दुख्ने गर्छ । यसबाहेक आँखाको पछाडि दुख्ने, कमजोरी हुने, भोक नलाग्ने, घाँटी दुख्ने, मुखमा नराम्रो स्वाद आउने, शरीरमा दागहरू आउने जस्ता लक्षण पनि देख्न सकिन्छ ।
डेंगु कसरी हुन्छ ?
डेंगु सामान्यतया पोथी एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । यी एक विशेष प्रकारको लामखुट्टे हुन् । यी लामखुट्टेले विशेष गरी बिहान टोक्ने गर्छ । डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी डेंगु भाइरसका चार उपजाति छन् ।
लामखुट्टेले पहिले नै संक्रमित व्यक्तिलाई टोक्दा भाइरस लामखुट्टेमा प्रवेश गर्छ । यो रोग तब फैलिन्छ जब त्यो लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ र भाइरस व्यक्तिको रगतबाट फैलिन्छ । एक पटक डेंगु ज्वरोबाट निको भइसकेपछि निश्चित उपजातिका भाइरसबाट प्रतिरोधी हुन्छन्, तर अन्य तीन प्रकारका भाइरसबाट होइन । यदि तपाईं दोस्रो, तेस्रो वा चौथो पटक संक्रमित हुनुभयो भने तपाईंलाई गम्भीर खालको डेंगु ज्वरो हुनसक्छ । जसलाई डेंगु हेमोरेजिक ज्वरो भनिन्छ । पटक-पटकको संक्रमणले हेमोरेजिक ज्वरो हुने सम्भावना बढ्छ ।
डेंगु ज्वरोका लक्षणहरू
-अचानक उच्च ज्वरो आउने
-गम्भीर टाउको दुख्ने
-जोर्नी र मांसपेशीहरुमा गम्भीर दुख्ने
-आँखा पछाडि दुख्ने
-लिम्फ ग्रन्थीहरू सुन्निने
-वाकवाकी लाग्ने
-बान्ता आउने
-चिलाउने
-थकाइ लाग्ने
डेंगुबाट बच्ने उपाय
– एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्छ । खासगरी बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले पूरै शरीर ढाक्ने लुगा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाउनुपर्छ ।
– घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घरभित्र लामखुट्टे मfर्ने औषधि कुनाकाप्चामा पनि छर्कन सकिन्छ । औषधि छर्किसकेपछि घरको झ्याल ढोका कम्तीमा १५ देखि २० मिनेट बन्द गर्नुपर्छ ।
– एडिस लामखुट्टे सफा र जमेको पानीमा पाइन्छ । पानीको भाँडो वा ट्याङ्कीलाई जहिले पनि छोप्नुपर्छ । आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने, घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नुपर्छ ।
– आवश्यक भएमा उचित कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ । लामखुट्टेको प्रजनन् स्थलको विकास हुने सम्भावनालाई कम गर्न, पानी जम्मा गर्न सक्ने भाँडाकुँडाहरू घोप्ट्याएर राख्नुपर्छ र सतह राम्ररी सफा गर्नुपर्छ ।
– घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नुपर्छ ।
– बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्नुपर्छ ।
– पूरै शरीर ढाक्ने लुगा लगाउनुपर्छ ।
– घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नुपर्छ । लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ ।
– काम नलाग्ने र पानी भरिन सक्ने सामान जस्तै बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्नुपर्छ ।
– आफ्नो घर वरिपरि, कार्यस्थल र विद्यालयको अँध्यारा कुना–काप्चा, जस्तै- पर्दा पछाडि, खाटमुनि, शौचालयभित्र, डेस्क-बेन्चमुनि जस्ता ठाउँहरुमा कीटनाशक औषधि छर्किनुपर्छ ।
डेंगु भएमा के खाने ?
मेवा
आहारविद्का अनुसार मेवामा इमोपापाइन र पापाइन जस्ता इन्जाइमहरू पाइन्छ । जसले रगतमा प्लेटलेट्सको संख्या (डेंगु उपचार) बढाउन मद्दत गर्छ । त्यसैले डेंगुबाट पीडित व्यक्तिलाई मेवा खान सल्लाह दिइन्छ ।
नरिवलको पानी
डेंगु भएमा नरिवलको पानी पिउन सल्लाह दिइन्छ । यसमा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, इन्जाइम, भिटामिन सी जस्ता धेरै पोषक तत्व पाइन्छ । जसले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । डेंगु ज्वरोले शरीरमा कमजोरी निम्त्याउँछ, यस्तो अवस्थामा नरिवल पानीको सेवन गर्नु फाइदाजनक हुन्छ ।
बेसार
विज्ञहरुका अनुसार डेंगुका बिरामीले बेसारको सेवन गर्नुपर्छ । यसमा एन्टि-इन्फ्लेमेटरी र एन्टि-ब्याक्टेरियल गुण पाइन्छ । यिनीहरूले मेटाबोलिज्म र इम्युनिटी बढाउने काम गर्छ । राति सुत्नुअघि बेसारयुक्त दूध पिउनाले डेंगु हुँदा फाइदा हुन्छ ।
अमिला फलहरू
डेंगु ज्वरोमा किबी, सुन्तला जस्ता अमिलो फलफूल खानु उपयुक्त हुन्छ । यसको सेवन लाभदायक मानिन्छ । डेंगु ज्वरोमा यी फलफूल खाँदा रोगप्रतिरोधात्मक क्षमता बलियो हुन्छ । र, डेंगुबाट छुटकारा पाउन सकिन्छ । डेंगु ज्वरो आएपछि यी फलफूलको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
डेंगु भएमा के नखाने ?
डेंगु रोगी चिया, कफी, सोडा वा सफ्ट ड्रिंक जस्ता चीजबाट टाढा रहनुपर्छ । यसले डिहाइड्रेसनको समस्या निम्त्याउन सक्छ । यो डेंगु ज्वरोमा हानिकारक हुनसक्छ ।
डेंगुमा मसालेदार खानाबाट टाढा रहनुपर्छ । यसको सेवनले एसिडिटी र पेटसम्बन्धी समस्या बढ्न सक्छ । ज्वरोबाट निको हुन पनि समस्या हुनसक्छ ।
डेंगु रोगीलाई भुटेको खानेकुरा दिनु हुँदैन । यसले बोसो बढाउँछ र प्रतिरक्षा कमजोर हुनसक्छ । यदि यस्तो भयो भने ज्वरोबाट छुटकारा पाउन गाह्रो हुनसक्छ ।
चिल्लो खानेकुरा
डेंगु रोगीले धेरै तेल र मसला भएको खानेकुरा खानु हुँदैन । कुनै पनि खानेकुराका लागि हल्का खाना मात्र रोज्नुपर्छ । वास्तवमा, चिल्लो भएको खानेकुरामा धेरै बोसो पाइन्छ, जसले उच्च रक्तचाप र उच्च कोलेस्टेरोल जस्ता समस्या निम्त्याउन सक्छ ।
डेंगुको उपचार
डेंगु ज्वरोको कुनै खास उपचार छैन । समयमै हेरचाह प्राप्त गर्नाले रोग गम्भीर भएपनि तंग्रिन मद्दत गर्छ । डेंगु संक्रमणको उपचारका लागि कुनै विशेष औषधि छैन । डेंगु ज्वरो छ जस्तो लाग्छ भने प्रशस्त आराम गर्नुपर्छ, प्रशस्त तरल पदार्थ पिउनुपर्छ । पिसाब कम लाग्ने, मुख वा ओठ सुक्खा हुने, निद्रा लाग्ने वा अलमल हुने, हातखुट्टा चिसो हुने जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।
प्यारासिटामोल औषधिले मांसपेशी दुखाइ र ज्वरो कम गर्न मद्दत गर्छ । डेंगु ज्वरोमा चिकित्सकको सल्लाह विना एन्टिप्लेटलेट औषधि खानु हुँदैन । तर यदि डेंगु ज्वरो नै हो भने डेंगु ज्वरोको कारण रगत बग्ने जटिलताहरूको जोखिमबाट बच्न डाक्टरको सल्लाह विना प्यारासिटामोल बाहेक पीडानाशक अन्य औषधि सेवन गर्नु हुँदैन ।
यदि ज्वरो कम भएको पहिलो २४ घण्टामा असहज महसुस हुन थाल्यो भने तुरुन्तै अस्पतालमा डेंगु ज्वरोको जटिलताको जाँच गराउनुपर्छ ।
तरल पदार्थ प्रशस्त मात्रामा लिनुपर्छ । यो एकदमै महत्वपूर्ण छ, किनकि बान्ता र उच्च ज्वरोको बेला हाम्रो शरीरमा तरल पदार्थको मात्रा धेरै कम भएको हुन्छ । तरल पदार्थको नियमित सेवनले शरीरमा सजिलै हाइड्रेसनको सुनिश्चित गर्छ ।
डेंगु नियन्त्रणका लागि स्वच्छता अत्यन्तै महत्त्वपूर्ण छ । डेंगुरोगीले सरसफाइमा ध्यान दिएमा चाँडै स्वस्थ हुनमा मद्दत पुग्छ ।











