दैव त! कति निष्ठुरी छस्

धनबहादुर धामी – बैतडी सदरमुकाम गोठालापानीको एउटा खुद्रा पसलमा सामान किन्न म लाइनमा उभिएको थिएँ। पसलअगाडि ग्राहकहरूको बाक्लै भीड थियो। मेरो ध्यान भने पूरै पसले दाइतिर थियो। हतारमा पनि थिएँ, त्यसैले वरिपरिको वातावरणतिर खासै ध्यान गएको थिएन।
त्यही भीडमा एक जना वृद्ध आमा पनि थिइन्।
उनको ध्यान भने ममाथि रहेछ—तर मलाई त्यसको पत्तै थिएन।
अचानक उनी भक्कानिन थालिन्।
एकैछिनमा पसलमा भएका सबैको ध्यान उनीतिर खिचियो। मेरो ध्यान पनि उतै गयो। उनी असह्य पीडामा धरधरी रोइरहेकी थिइन्। म एकाएक चकित भएँ।

‘के भयो होला उनलाई?’
मनमा अनेक प्रश्न उठे।
मैले वरिपरिका ग्राहकहरूलाई सोधेँ, “उहाँलाई के भयो? बिरामी पर्नुभएको हो?”

तर अरू ग्राहकहरू पनि अक्क न बक्क थिए। कसैलाई केही थाहा थिएन।
त्यसैबीच ती वृद्ध आमा एकाएक मेरो नजिक सरिन्। अनि मेरो शरीरलाई बेस्सरी च्यापेर धरधरी रुन थालिन्। उनको रोदन झन् चर्किँदै गयो। उनका आँसु मेरो शरीरमा झरिरहेका थिए।
म पनि आफूलाई सम्हाल्न सकिनँ।
“तिमीलाई के भयो? किन यसरी रोएकी?” भन्दै सम्झाउन थालेँ।
अरू ग्राहकहरूले पनि उनलाई सम्झाउने प्रयास गरिरहेका थिए।
तर उनको आँखाबाट आँसु रोकिएन।
पसलका दाइलाई भने उनी यसरी भक्कानिनुको कारण थाहा रहेछ। उनले ती वृद्ध आमालाई सम्झाउँदै भने,
“विगत सम्झेर केही हुँदैन। आफूलाई सम्हाल…”
तर विगत कहाँ सजिलै भुलिन्छ र?
विशेषगरी त्यो विगत, जसमा आफ्नै मुटुको टुक्रा गुमाएको पीडा जोडिएको होस्!
केही बेरपछि उनी अलि शान्त भइन्। त्यसपछि उनले मलाई नजिकै बोलाएर एकपछि अर्को गर्दै मेरा बारेमा धेरै कुरा सोधिन्—घर कहाँ हो, के गर्छु, कहाँ बस्छु, परिवारमा को-को छन्…।
उनले सोधेका प्रत्येक प्रश्नको मैले सकेसम्म जवाफ दिइरहेँ।
सायद उनलाई ममा कसैको अनुहार देखिएको थियो।
सायद मेरो आवाजमा कसैको आवाज खोजिरहेकी थिइन्।
सायद मेरो जिउँडालमा उनले आफ्नो हराएको नातिको आकृति देखिरहेकी थिइन्।
उनले धेरै कुरा सोधिसकेपछि छुट्टिन खोजिन्। उनले चाहिने सामान त पहिले नै किनिसकेकी रहिछन्।
“म जान्छु नाना,” भन्दै उनले मलाई थुप्रै आशीर्वादका शब्द दिइन्।
तर उनलाई त्यसै पठाउन मेरो मनले मान्दै मानेन।
मैले केही खानेकुरा किनिदिएँ। उनले लिन मानिनन्।
“पर्दैन नाना, मसँग पैसा छ,” भन्दै उल्टै मलाई पैसा दिन खोजिन्।
मैले पैसा लिन मानिनँ।
धेरै आग्रह गरेपछि बल्ल उनले मैले दिएको सामान समातिन्।
उनी फेरि आशीर्वाद दिन थालिन्।
“सधैँ सुखी हुनु… राम्रो गर्नु… लामो आयु होस्…”
उनका शब्दहरूमा आशीर्वादभन्दा बढी पीडा मिसिएको थियो।
छुट्टिने बेलामा उनी फेरि भक्कानिइन्।
म टाढिँदै थिएँ, उनी पनि आफ्नै बाटोतिर लाग्दै थिइन्। तर मेरो आँखा उनीबाट हट्न सकेन।
म परसम्म पुग्दा पनि एकटक उनलाई हेरिरहेँ।
केही पर पुगेपछि उनी ढल्किइन्।
म झस्किएँ।
त्यही बेला पसले दाइले बिस्तारै भने, “उनले केही समयअघि मात्रै तिमीजस्तै अनुहार र जिउँडाल भएको आफ्नो नाति गुमाएकी थिइन्।”
त्यो वाक्यले मेरो मन चिरियो।
त्यतिबेला बल्ल मैले बुझेँ, उनले मलाई किन त्यसरी हेरेकी रहिछिन्।
किन मेरो शरीरलाई बेस्सरी च्यापेर रोएकी रहिछिन्।
किन मेरा बारेमा यति धेरै प्रश्न सोधेकी रहिछिन्।
किन छुट्टिने बेलामा उनका आँखा फेरि आँसुले भरिएका रहेछन्।
उनले मभित्र आफ्नो हराएको नातिलाई देखेकी रहिछिन्।
म त केही क्षणका लागि उनको नाति बनेछु।
उनले मलाई अँगाल्दा सायद आफ्नै नातिलाई अँगालेकी थिइन्।
मसँग कुरा गर्दा सायद आफ्नै नातिसँग कुरा गरिरहेकी थिइन्।
मलाई आशीर्वाद दिँदा सायद आफ्नै नातिको आत्मालाई आशीर्वाद दिइरहेकी थिइन्।
मसँग त उनको कुनै नाता थिएन।
तर एउटा आमाको मुटुले नाता खोज्न रगतको सम्बन्ध नै चाहिँदैन रहेछ।
त्यो दिन एउटी अपरिचित वृद्ध आमाको आँसुले मलाई भित्रैदेखि हल्लायो।
आज पनि त्यो दृश्य सम्झिँदा मन भारी हुन्छ।
दैव त! कति निष्ठुरी छस्?

कति आमाहरूको काख रित्तो बनाएर पनि उनीहरूलाई बाँच्न बाध्य पार्छस् ?
कति आमाहरूलाई आफ्नै सन्तानको सम्झनामा तड्पिँदै, आँसु पिउँदै र हरेक अपरिचित अनुहारमा आफ्नो गुमेको सन्तान खोज्दै जीवन बिताउन विवश बनाउँछस्?
कसैको मृत्यु एउटा मानिसको मृत्यु मात्र हुँदैन रहेछ—
त्यससँगै कसैको संसार उजाडिँदो रहेछ,
कसैको निद्रा हराउँदो रहेछ,
कसैको हाँसो हराउँदो रहेछ,
र कसैको बाँकी जीवन नै एउटा लामो प्रतीक्षामा परिणत हुँदो रहेछ।
त्यो दिन मैले एउटी अपरिचित आमाको आँखामा आफ्नै संसारको सबैभन्दा ठूलो पीडा देखेँ।
आमाको आँसु सायद संसारकै सबैभन्दा भारी आँसु हो।

सम्बन्धित समाचार

ताजा समाचार