दार्चुला । कर्मचारी अभावका बीच पनि सामाजिक विकास कार्यालय दार्चुलाले पछिल्ला छ वर्षमा शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रका भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको छ । आर्थिक वर्ष २०७७-०७८ देखि हालसम्म कार्यालयले विद्यालय भवन, आइसिटी ल्याब, खेलमैदान, घेरपर्खाललगायतका दर्जनौं पूर्वाधार निर्माण सम्पन्न गरेको छ ।

कार्यालय प्रमुख रामचन्द्र ओझाका अनुसार छ वर्षको अवधिमा २ कोठे विद्यालय भवन ६१ वटा र ४ कोठे विद्यालय भवन ८ वटा निर्माण भएका छन् । यस अवधिमा अनाथ बालबालिकाका लागि एक भवन, विद्यालयका १४ वटा घेरपर्खाल, २३ वटा आइसिटी ल्याब तथा ११ वटा विद्यालय खेलमैदान निर्माण गरिएको उनले जानकारी दिए ।
त्यसैगरी २ वटा सामुदायिक भवन, ५ वटा विद्यालय खानेपानी आयोजना, ३ वटा मन्दिर तथा समुदायस्तरमा ४ वटा खेलमैदान निर्माण गरिएको छ । पूर्वाधार विकाससँगै कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।

गत आर्थिक वर्ष २०८२-०८३ मा कार्यालयलाई पूँजीगततर्फ ५ करोड ४२ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ४ करोड ७० लाख ३२ हजार १२४ रुपैयाँ खर्च भएको छ । चालूतर्फ विनियोजित ३ करोड ६५ लाख ८७ हजार रुपैयाँमध्ये २ करोड ९६ लाख ८२ हजार ३८३ रुपैयाँ खर्च गरिएको छ । त्यसैगरी संघीय सशर्त कार्यक्रमअन्तर्गत १२ लाख ७६ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख ओझाका अनुसार कार्यालयले छ वर्षको अवधिमा बेरुजु शून्य कायम राख्न सफल भएको छ, जुन सार्वजनिक वित्तीय अनुशासनको दृष्टिले महत्वपूर्ण उपलब्धि हो ।
सात जनाको दरबन्दी रहेको कार्यालयमा हाल स्थायी रूपमा दुई जना कर्मचारी मात्रै कार्यरत छन् भने दुई जना करार कर्मचारीमार्फत सेवा प्रवाह भइरहेको उनले बताए । सीमित जनशक्तिका बाबजुद सबै क्षेत्रका कार्यक्रम समयमै सम्पन्न गर्न सफल भएको उनको दाबी छ ।











