दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले आजदेखि गाउँबस सेवा सञ्चालनमा ल्याएको छ। गाउँबस सेवाको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअनुसार गाउँबस सेवा सञ्चालनमा ल्याएको हो।

स्थानीय बासिन्दाको आवतजावतलाई सहज, सुरक्षित र सुलभ बनाउने उद्देश्यले गाउँबस सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष बडालले बताए। बस सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दालाई यात्रा गर्न थप सहज हुने र यातायातको पहुँचसमेत सुदृढ हुने गाउँपालिकाको विश्वास छ।

गाउँपालिकाले बस सेवा सञ्चालनमा ल्याएसँगै भाडादरसमेत सार्वजनिक गरेको छ। गाउँपालिकाले ‘दुहुँ गाउँपालिकाको गाउँबस सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार बसको भाडादर निर्धारण गरेको हो।
निर्धारित भाडादरअनुसार महाकाली नगरपालिका–४, रिडिनतालदेखि श्रीनगरसम्म ३० रुपैयाँ भाडा कायम गरिएको छ।
त्यस्तै, तिमुरपाटासम्म ६० रुपैयाँ, सल्लीसम्म ७० रुपैयाँ, सिमलीसम्म ९० रुपैयाँ, दाैलासम्म १०० रुपैयाँ, जोशीगाउँसम्म १२० रुपैयाँ, धारीसम्म १३० रुपैयाँ, चल्लेगाडासम्म १५० रुपैयाँ, गरमोरासम्म १६० रुपैयाँ, हिकिलासम्म २०० रुपैयाँ, बास्पालीसम्म २२० रुपैयाँ र विणसम्म २५० रुपैयाँ भाडा निर्धारण गरिएको छ।
गाउँपालिकाले गाउँबसको न्यूनतम भाडा १० रुपैयाँ तोकेको जनाएको छ।
त्यसैगरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा विद्यार्थीलाई सक्कल परिचयपत्रका आधारमा तोकिएको भाडादरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको अध्यक्ष बडालले जानकारी दिए।












