फेरिँदै अपिहिमाल : डिजिटल पालिकादेखि पर्यटन गन्तव्यसम्म !

दार्चुला । दुर्गम हिमाली क्षेत्रका रूपमा चिनिएको अपिहिमाल गाउँपालिकाले पछिल्ला चार वर्षमा मुहार फेर्दै गइरहेको छ । एक मात्र सडक सञ्जालले नजोडिएको पालिकाले पछिल्लो समय परिवर्तन हुँदै गएको छ ।

स्थानीय तह गठन भएयता अहिले अपिहिमाल गाउँपालिकामा सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्दै विकासको आधार तयार पारिदै लगिएको छ ।
अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार पालिकाले भौतिक पूर्वाधारसँगै प्रविधिमैत्री सेवा प्रवाहलाई जोड दिँदै ‘डिजिटल पालिका’ बनाउने प्रयास गरेको छ ।

अध्यक्ष बोहराका अनुसार अपिहिमाल गाउँपालिका जिल्लामै आफ्नै सर्भर र डाटा सेन्टर स्थापना गर्ने एकमात्र स्थानीय तह हो । पालिकाका सेवा तथा कामलाई क्रमश : डिजिटलाइजेसन गर्ने तयारी भइरहेको उनले बताए । सरकारी मूल्यांकनका विभिन्न सूचकमा अपिहिमाल हरेक वर्ष उत्कृष्ट स्थानीय तहका रूपमा देखिँदै आएको छ । उनले भने, जिल्लामै हरेक सूचकमा उत्कृष्ट र सुदूरपश्चिम प्रदेशका अन्य उत्कृष्ट पाँच पालिकाभित्र पर्ने उनको दाबी छ ।


सडक र विद्युत् विस्तारमा प्राथमिकता
निर्वाचनका बेला पाँच वर्षभित्र गाउँपालिका केन्द्रदेखि सबै वडा सडक सञ्जालमा जोड्ने लक्ष्य लिएको पालिकाले चालू आर्थिक वर्षभित्रै मुख्य सडक सञ्जाल गाउँपालिका केन्द्रसम्म पु¥याउने जनाएको छ । अध्यक्ष बोहराका अनुसार आफ्नो कार्यकालभित्र वडा नम्बर ३ र ४ समेत सडक सञ्जालमा जोडिनेछन् । वडा नम्बर ५ र ६ सम्म सडक पु¥याउन आवश्यक पहल भइरहेको उनले बताए ।
बजेट निरन्तर गइरहेको छ । सकेसम्म वडासम्म सडक जोड्ने प्रयास हुन्छ । वडा नम्बर १ र २ को लागि तत्काललाई काफलधारसम्म सडक पु¥याइएको छ ।


विद्युत्को पहुँच विस्तारमा पनि पालिकाले प्रगति गरेको जनाएको छ । सबै वडामा वैकल्पिक विद्युतीकरण पुगेको र कार्यकालभित्रै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको अध्यक्ष बोहराले बताए । यसअघि यही क्षेत्रमा उत्पादन गरिएको विद्युत् पु¥याइएको थियो । वडा नम्बर २ मा सोलार बत्ति घर घरमा पु¥याइएको छ । अहिले राष्ट्रिय प्रसारणको लाइनसमेत विस्तारको काम चलिरहेको उनले बताए । छिट्टै पालिकाभरिका सबै वस्तीमा विद्युतीकरण गरिन्छ ।


अपिहिमालका मुख्य पदमार्गमा मात्रै करिब ५० किलोमिटर निर्माण गरिएको छ । गाउँबस्तीभित्रका शाखा पदमार्गसमेत विस्तार भइरहेका छन् । पालिकाले सबै वडाको समानुपातिक विकासका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सूत्रअनुसार जनसंख्या र भूगोललाई आधार बनाएर बजेट विनियोजन गर्दै आएको जनाएको छ ।
‘अपिहिमाल मात्रै यस्तो पालिका हो,’ अध्यक्ष बोहराले भने, ‘जो वित्त आयोगको सुत्र अनुसार वडातहमा बजेट बाँडफाँड गर्छ । हामी सबै ठाउँमा समानुपातिक विकास गर्न खोजेका छौ ।’


‘एक घर, एक धारा’ निर्माण
खानेपानीको क्षेत्रमा पनि उल्लेख्य काम भएको पालिकाको दाबी छ । अध्यक्ष बोहराका अनुसार पालिकाका सबै घरधुरीमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यअनुसार ‘एक घर, एक धारा’ निर्माण गरिएको छ ।
उनका अनुसार ग्रामीण जलस्रोत परियोजनाले विगतमा निर्माण गरेका खानेपानी योजनाबाट छुटेका बस्ती तथा घरधुरीमा पालिकाले आफ्नै पहलमा खानेपानी विस्तार गरेको हो । करिब एक हजार तीन सय घरधुरी रहेको पालिकामा घरधुरीभन्दा बढी करिब एक हजार पाँच सय धारा निर्माण भइसकेका छन् । दोहोरो बस्ती, विद्यालय तथा सार्वजनिक स्थानमा समेत धारा निर्माण गरिएकाले धाराको संख्या घरधुरीभन्दा बढी भएको उनले बताए ।


अहिले यहाँका हरेक घरधुरीमा आ–आफ्ना छुट्टै खानेपानी धारा र शौचालय छन् । दुर्गम बस्ती भए पनि सरसफाइ र खानेपानीको क्षेत्रमा अपिहिमालको बेग्लै पहिचान बनेको छ ।
खानेपानीका मुहान संरक्षण र पानी पुनर्भरणका लागि रिचार्ज पोखरी निर्माण गर्ने कामसमेत भइरहेको पालिकाले जनाएको छ ।

आफ्नै भवनदेखि स्वास्थ्य पूर्वाधारसम्म
अपिहिमालका सबै छ वडामा वडा कार्यालयका भवन निर्माण गरिएका छन् । गाउँपालिका भवन र अस्पताल भवन निर्माण भइसकेका छन् । पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको छ । यहाँका ६ वडामा आठ वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेको अध्यक्ष बोहराले बताए ।
आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यले प्रत्येक वडामा स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ज्येष्ठ नागरिकलगायत नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन हुँदै आएका छन् ।


दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन ‘स्मार्ट हेल्थ’ कार्यक्रम सञ्चालन गरिएको छ । भिडियोमार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सकिने व्यवस्था गरिएको अध्यक्ष बोहराले बताए । उनका अनुसार ‘स्मार्ट हेल्थ’ कार्यक्रम सञ्चालन गर्ने दार्चुलाको एकमात्र गाउँपालिका अपिहिमाल हो ।


हरेक वर्ष तीन–चार वटा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको पालिकाले जनाएको छ । आँखा उपचार तथा शल्यक्रिया, दाँत र महिलासम्बन्धी स्वास्थ्य उपचारलगायत सेवा निःशुल्क रूपमा उपलब्ध गराउने गरिएको छ ।
स्वास्थ्यलाई पर्यटनसँग जोड्ने उद्देश्यले ‘हेल्थ टुरिज्म’ कार्यक्रमसमेत अघि बढाइएको अध्यक्ष बोहराको भनाइ छ । स्वास्थ्य सेवा सम्बन्धि शिविरहरु हेल्थ टुरिज्ममार्फत भइरहेको छ । जिल्लामा समेत नपाइने निशुल्क स्वास्थ्य सेवा हामीले पालिकामै निशुल्क उपलब्ध गराउँदै आएको उनको भनाई छ ।

प्रविधिमैत्री बन्दै विद्यालय
शिक्षाको गुणस्तर सुधारसँगै विद्यालयको भौतिक पूर्वाधारलाई पनि पालिकाले प्राथमिकतामा राखेको छ । अध्यक्ष बोहराका अनुसार करिब ९५ प्रतिशत विद्यालयमा पक्की भवन निर्माण भइसकेका छन् ।
विद्यालयमा कम्प्युटर, प्रिन्टर, स्मार्ट बोर्ड, टेलिभिजनलगायत प्रविधिजन्य सामग्री उपलब्ध गराइएको छ । विद्यालयको भान्छा व्यवस्थापन, बालमैत्री पूर्वाधार निर्माण तथा प्रविधिमैत्री कक्षा सञ्चालनमा पनि पालिकाले काम गरेको जनाएको छ ।
सबै विद्यालयका भवन बालमैत्री बनाइएको छ । ‘पूर्वाधारसँगै प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेर विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

भेडाच्याङ्ग्रा र रैथाने बालीबाट आयआर्जन
अपिहिमालका स्थानीयको आयआर्जनको माध्यममध्ये भेडा–बाख्रा तथा च्याङ्ग्रापालन पनि एक हो । विगतमा यार्सागुम्बा लगायतका बहुमूल्य जडिबुटी भएको भए पनि अहिले स्थानीय सरकारले पशुपालन र कृषि क्षेत्रलाई समेत आयआर्जनसँग जोड्ने प्रयास गरेको छ ।


अध्यक्ष बोहराका अनुसार यहाँबाट वार्षिक रूपमा करिब आठदेखि १० करोड रुपैयाँ बराबरका भेडा च्याङ्ग्रा बाहिर निर्यात हुने गरेको छ । दशैतिहारको समयमा यहाँका पालिका भेडाबाख्रा धनगढी, पोखरा हुँदै काठमाण्डौसम्म पुग्ने गरेको छ ।
यहाँको पालिका भेडापालन व्यवसायको लागि उत्कृष्ट मानिन्छ । प्रयाप्त वन जंगल भएका कारण यहाँका अधिकांशले भेडाबाख्रा पालन व्यवसाय गर्ने गरेका छन् ।


कृषि तथा पशुपन्छी क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ । लोप हुने अवस्थामा पुगेका रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनमा जोड दिइएको छ । चिनो, कागुनो, फापर र कोदोजस्ता रैथाने बाली लगाउन छाडेका किसानलाई पुनः ती बालीतर्फ आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बोहराले बताए ।


अहिले किसानले रैथानी बालीको उत्पादन बढाएका छन् । बढि उत्पादन भएको बालीलाई बिक्री गर्ने सक्ने अवस्था पु¥याइदैछ ।
कृषिलाई पर्यटनसँग जोडेर ‘एग्रो टुरिज्म’ प्रवद्र्धन गर्ने र उत्पादनको बजार सुनिश्चित गर्ने उद्देश्यले ‘एक वडा, एक खेती’ अवधारणाअनुसार विभिन्न मसला तथा कृषि उत्पादनको प्रवद्र्धन गरिएको पालिकाले जनाएको छ । अहिले यो क्षेत्रबाट राज्मा, भटमास आलु लगायतका बाली निर्यात हुन थालेका छ ।

अपिहिमाललाई पर्यटनको गन्तव्य बनाउने लक्ष्य
प्राकृतिक सौन्दर्यले भरिएको अपिहिमाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । ग्रामीण पर्यटनको विकासमा योगदान पु¥याएको भन्दै सरकारले समेत सम्मान गरेको अध्यक्ष बोहराले बताए ।
पर्यटन पूर्वाधार निर्माण र पदमार्ग विस्तारलाई प्राथमिकता दिँदै अपिहिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।


अध्यक्ष बोहराका अनुसार पछिल्लो समय वार्षिक पाँच हजारभन्दा बढी पर्यटक अपिहिमाल पुग्ने गरेका छन् । यो वर्षभित्र पर्यटकको संख्या १० हजार पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको छ ।


अपिहिमाल सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यभित्रसमेत परेको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा अपिहिमालको तस्बिर सार्वजनिक गरेपछि यसको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ ।
‘अबको प्राथमिकता निर्माण भएका पूर्वाधारलाई दिगो बनाउँदै रोजगारी र आयआर्जनसँग जोड्ने छ,’ अध्यक्ष बोहराले भने, ‘अपिहिमाललाई प्रविधिमैत्री, आत्मनिर्भर र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने रहेको छ ।’

सम्बन्धित समाचार

ताजा समाचार