काठमाण्डौ – सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० वटा जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ वटा र एक सय मेगावाटभन्दा कम क्षमताका १२ आयोजनाको अध्ययन अघि बढाएको हो ।
विभागले एक हजार सात सय २० मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । यो आयोजना रामेछाप र दोलखा भएर बहने खिम्ती नदीमा निर्माण हुनेछ । पर्वत र बाग्लुङको सिमाना भएर बहने कालीगण्डकी नदीमा निर्माण हुने आठ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन भैरहेको छ ।
विभागका अनुसार नौ सय १६ मेगावाट क्षमताको हुम्ला कर्णाली क्यास्केड, सात सय मेगावाट क्षमताको कालीगण्डकी दोस्रो, पाँच सय १२ मेगावाट क्षमताको बुरबाङ्ग लगायतका जलविद्युत् आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको छ । विभागले २३ जलविद्युत् आयोजनाको भने सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न गरिसकेको छ ।
आउँदो १२ वर्षमा २८ हजार पाँच सय मेगावाट क्षमता बराबर विद्युत् उत्पादन गर्ने लक्ष्य अनुसार काम भइरहेको विद्युत् विकास विभागले जनाएको छ । अहिले निर्माणमा रहेका, निर्माणमा जाने तयारीमा रहेका धेरैजसो आयोजना नदी प्रवाही प्रकृतिका छन् । हिउँदमा विद्युत् अभाव हुने समस्या बढेपछि सरकारले पछिल्लो समयमा अर्धजलाशय र जलाशय प्रकृतिका आयोजनालाई प्राथमिकतामा राखेको छ ।