काठमाण्डौ – घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको हिजोको इजलासले नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो ।
इजलासले नेपाललाई एक वर्ष कैद सजाय र छ लाख रुपैयाँ जरिबाना हुने फैसला सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुुभयो । नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन् ।
बीबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो । बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभइ सापटी दिएको बयान दिएका थिए ।
उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीको होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए । पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ हुन् ।