एमाले दार्चुलाको नवनिर्वाचित कमिटीद्वारा पदभार ग्रहण, शालिकमा माल्यार्पण, पहिलो बैठक सम्पन्न

दार्चुला । नेकपा एमाले दार्चुलाको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीले पदभार ग्रहण गरेको छ । पुस १८ गतेदेखि सुरू भएको जिल्ला अधिवेशन सहमतिमै नयाँ जिल्ला कमिटी चयन गर्दै शुक्रबार सम्पन्न भएको हो । नवनिर्वाचित कमिटीले हिजो शुक्रबार सपथग्रहण र आज शनिबार पदभारग्रहण गरेको नेकपा एमाले दार्चुलाका इन्चार्ज एबं केन्द्रीय कमिटी सदस्य सहदेब बोगटीले जानकारी दिनुभयो ।

अधिवेशनबाट ज्ञानेन्द्र बहादुर घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन भएको छ । जिल्ला कमिटीको उपाध्यक्षमा परमानन्द जोशी, सचिवमा उमेशराज जोशी, उपसचिवमा कर्णबहादुर खडायत र कमला पन्त बिष्ट चयन हुनुभएको छ । यस्तै खुला र भूगोल तर्फ सबै कलस्टर समेटेर ९० सदस्यीय जिल्ला कमिटी चयन गरिएको उहाँले बताउनुभयो । सहमति र एकताको सन्देश सहित ऐतिहासिक रूपमा जिल्ला अधिवेशन सम्पन्न भएको नवौं जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष एबं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले बताउनुभयो ।

पदभार ग्रहण पछि शनिबार नै दार्चुला जिल्ला सदरमुकाम खलंगामा नवनिर्वाचित कमिटीको पहिलो बैठक आयोजना भएको छ । बैठकमा निर्वाचित भएको प्रमाणपत्र वितरण र अगामी कार्ययोजनासहित आवश्यक विभिन्न विषयमा छलफल भएको नेकपा ९एमाले० जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो । बैेठकमा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना, दार्चुला इन्चार्ज सहदेब बोगटी, निवर्तमान जिल्ला कमिटीका पदाधिकारी, एमाले दार्चुलाका नेताहरूको आतिथ्यता रहेको थियो । तत्कालीन जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षता एबं एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता, केन्द्रीय सचिव एबं प्रदेश इन्चार्ज छबिलाल विश्वकर्माको विशिष्ट आतिथ्यतामा अधिवेशन उद्घाटन भएको थियो ।

नवौं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पहिलो बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । अगामी कार्ययोजना तयार गरि पदाधिकारीहरूलाइ अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत भएको नवनिर्वाचित सचिव उमेश जोशीले बताउनुभयो । युवा नेता एबं अधिवेशन प्रतिनिधि रघुबिर बोहराको निधनमा शोकप्रस्ताव पारित गरिएको छ । आवश्यक विभिन्न निर्णय गर्दै पहिलो जिल्ला कमिटी बैठक सम्पन्न भएको जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार