दार्चुला । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको टोली अपि हिमाल बेस क्याम्पकाे यात्रामा निस्किएका छन्।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार अपिहिमाल प्रस्थान गरेको हो। सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ मेयर हमाल स्वयं यात्रामा सहभागी भएका हुन्।

यसअघि उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दा उनले ‘सुन्दर सुदूरपश्चिम’ अभियान सुरु गरेका थिए। सोही अभियानको निरन्तरता स्वरूप अहिले स्थानीय सरकारकै पहलमा हिमाली तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि यो कदम चालिएको उनले बताएका छन्।
सोमबार धनगढीमा आयोजित एक औपचारिक कार्यक्रमबीच बाजागाजा र फूलमालासहित टोलीलाई भव्य बिदाइ गरिएको छ।
स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा सर्वसाधारणको उपस्थितिमा टोलीलाई शुभकामनासहित विदाइ गरिएको जनाइएको छ। १० दिनको कार्यतालिका तय गरेर निस्किएको उक्त टोलीले अपि हिमालको आधार शिविरसम्म पदयात्रा गर्नेछ।
धनगढीबाट बसमार्फत यात्रा सुरु गरेको टोली निर्धारित स्थानसम्म पुगेपछि पैदल यात्रा गर्दै बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखिएको छ। यस यात्राबाट सुदूरपश्चिमका ओझेलमा परेका पर्यटकीय सम्भावनाहरू उजागर हुने अपेक्षा गरिएको छ।
धनगढीबाट हिडेकाे टाेलि आज शैल्यशिखर नगरपालिकाकाे गाेकुलेश्वर बास बस्ने याेजना छ ।
यस्तै धनगढी उपमहानगरपालिकाकाे टाेलीलाई अपिहिमाल गाउँपालिकाकाे नाैपाटा हाेमस्टेमा भाेलि मंगलबार स्वागत गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बाेहराले जानकारी दिए ।
यस्तै टाेलि बुधबार अपिहिमाल गाउँपालिका-१ सिति हाेमस्टेमा बाँस बस्ने छन् । सितिबाट अर्काेदिन उनिहरू बेस क्याम्प पुग्ने याेजना छ । एक दिन वेस क्याम्प बाँस बसेर टाेलि फिर्ता हुने गरि कार्ययाेजना बनेकाे छ।
अपिहिमाल गाउँपालिकामा नगर प्रमुख हमाल नेतृत्वको टाेलिलाई स्वागत गरेपछि गाउँपालिका अध्यक्ष ठेकरे बाेहरा समेत टाेलीमा सँगै जाने छन् ।
अपि हिमाललाई अझै विश्वव्यापी रूपमा चिनाउन याे अभियान अझै महत्त्वपूर्ण रहने अध्यक्ष बाेहरा बताउछन् ।










