सीमा स्तम्भ मर्मत सम्भार सुरु

कपिलवस्तु — लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुका सीमा स्तम्भको मर्मत सम्भार सुरु गरिएको छ । कृष्णनगर नगरपालिका–२ लिंक गेट नजिकै रहेको ५ सय ६७ ९१० नम्बरको सहायक सीमा स्तम्भको मर्मत गरी शनिबारबाट कामको शुभारम्भ गरिएको हो ।

सीमा स्तम्भ मर्मत सम्भार सुरु
सशस्त्र प्रहरी बल बिन्ध्याबासिनी बाहिनी मुख्यालय डीआईजी अभिकुमार खत्री र भारतको बलरामपुर जिल्लाको ५० औं बटालियनका कमान्डेन्टेन्ट विकास राय सिंहले संयुक्त रुपमा मर्मत सम्भारको काम थालनी गरेका हुन् ।

जिल्लामा रहेका ठूला, सहायक र साना गरी २ सय ७७ वटा सीमा स्तम्भको मर्मत गरिने सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले बताए । बिजोर नम्बरको नेपाल र जोर नम्बरको भारतले मर्मत सम्भारको जिम्मा लिएका छन् ।

कपिलवस्तुसँग भारतको ९३ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । सीमा स्तम्भको रंगरोगन, २५ प्रतिशत क्षति भएको आंशिक, २५ देखि ५० प्रतिशत क्षति भएको मध्य र ५० प्रतिशतसम्म क्षति भएका सीमा स्तम्भको पूर्ण मर्मत गरिने बाहिनीपति खत्रीले बताए । सीमा स्तम्भ देशको संवेदनशील विषय भएकाले सरोकारवाला सबैको सहभागिता र समन्वयमा मर्मत गरिने उनले बताए ।

लुम्बिनी प्रदेशको ४ सय ३५ किलोमिटर सीमा भारतसँग जोडिएको छ । लुम्बिनी प्रदेशका सीमावर्ती अन्य ५ जिल्लामा पनि मर्मत सम्भारको काम सुरु गरिने बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार