बजेटमा परेन पुर्चौंडीको मुख्य सडक योजना : लगातार तीन वर्ष सिफारिस हुँदा पनि ‘रातो किताब’ मा नसमेटिएपछि स्थानीय आक्रोशित

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका वडा नं. ६, भूमिराज क्षेत्रका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको सडकको समस्या आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा पनि सम्बोधन हुन सकेको छैन । स्थानीय तह र वडा कार्यालयले लगातार तीन वर्षदेखि प्राथमिकताका साथ बजेट विनियोजनका लागि सिफारिससहित पठाएको योजना प्रदेश सरकारको ‘रातो किताब’ मा नपरेपछि स्थानीय नागरिक आक्रोशित बनेका छन् ।


पुर्चौंडी नगरपालिका वडा नं. ६ को भूमिराज अन्तर्गत पर्ने रसेडाधार, गौबिए, दुल्लापानी, भिणामोड हुँदै वडा कार्यालय जोड्ने कृषि सडकको स्तरोन्नति र निर्माणका लागि स्थानीय सरकारले पटक–पटक माग गर्दै आएको थियो ।


पूैर्चौडी नगरपालिकाका नगरप्रमुख दीपक बहादुर बम र वडा नं. ६ का कार्यवाहक वडा अध्यक्ष अमर सिंह साउँदद्वारा विभिन्न मितिमा भौतिक पूर्वाधार विकास मन्त्रालय तथा पूर्वाधार विकास कार्यालय, बैतडीलाई बजेट व्यवस्थापनका लागि सिफारिस पत्र पठाइएको थियो ।


पूर्वाधार विकास कार्यालयबाट अनलाइन प्रणालीमा समेत प्राथमिकताका साथ ‘इन्ट्री’ गरेर पठाइएको उक्त योजना यस पटकको बजेटमा पनि पनि नपरेपछि स्थानीय बासिन्दाले प्रदेश सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।


स्थानीय शैलेन्द्र धानुकले प्रदेश सरकारको नीतिप्रती आक्रोश व्यक्त गर्दै भने ‘सुदूरपश्चिम प्रदेशमा कमिसन मिल्ने खालका खल्तीका योजनाहरूमा हरेक वर्ष बजेट औइरिने गरेको छ, तर जहाँ जनताले वास्तविक सास्ती भोगिरहेका छन्, त्यस्ता ठाउँमा कहिल्यै बजेट आउँदैन् ।’


पहुँच र शक्तिका भरमा मात्रै योजना बाँड्ने प्रवृत्तिले गर्दा वास्तविक आवश्यकता भएका क्षेत्र सधैं पछाडि पारिएका छन्, उनले भने । बैतडीकै अन्य ठाउँमा हरेक वर्ष सडक लगायतमा निरन्तर पहुँचका भरमा योजना आउने गरेका छन् । तर पालिकाको वास्तविक समस्या लेखेर पठाउँदा पनि हरेक वर्ष उपेक्षामा पर्ने गरेका छन् ।


वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडक खण्ड जीर्ण अवस्थामा हुँदा स्थानीयको आवतजावत, कृषि उपज ढुवानीमा समेत समस्या हुँदै आएको छ । यो क्षेत्रमा सडक नहुँदा स्थानीयले २।३ घण्टा उकालो भारी बोकेर हिड्नुपर्ने अहिले पनि बाध्यता छ ।


कृषिको लागि राम्रो मानिएको यो क्षेत्रका नागरिकले आफ्नो उत्पादन विक्री गर्न समेत समस्या भएको छ । यो सडक निर्माण तथा स्तरोन्नती हुन सक्यो भने, स्थानीयको, आर्थिक, सामाजिक तथा समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार