दार्चुला- व्याँस गाउँपालिका–२ अन्तर्गत दार्चुला तिङ्कर सडक अन्तर्गत माल–कोठेघार सडक खण्डमा दुम्लिङ–घट्टे खोला पुल निर्माणका लागि सामग्री ढुवानी गरिरहेको ट्याक्टर दुर्घटनामा परेकाे छ । ट्याक्टर चालक चक्र बम सकुशल रहेका छन् ।

मालका स्थानीय जनकसिह धामीका अनुसार ३४१ नम्बरको ट्याक्टर खड्केधार क्षेत्रमा सडकबाट करिब ६० मिटर तल खसेको थियो।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ।
दुर्घटनापछि दार्चुला–टिङ्कर सडक खण्डमा खटिएको नेपाली सेनाको टोली तत्काल घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो।

सेनाको सक्रियताका कारण उद्धार कार्य सहज भएको धामीले बताए ।
दुर्घटनाग्रस्त ट्याक्टरले दुम्लिङ–घट्टे खोला क्षेत्रमा निर्माणाधीन झोलुङ्गे पुलका लागि आवश्यक निर्माण सामग्री ढुवानी गरिरहेको थियो। उक्त पुल निर्माण कार्य सामाजिक अभियन्ता हर्क साम्पाङ राईको टोलीको पहलमा सञ्चालन भइरहेको छ।
पुल निर्माणकोकार्य समेत अन्तिम चरणमा पुगेकाे छ ।











