प्रधानाध्यापक मृत्यु प्रकरण : छ जना शिक्षकसहित आठ जना नै कारागार चलान

ब्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पक्राउ परेका ८ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार आठै जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।


जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार मदन प्रसाद जयसवालका अनुसार तत्कालका लागि ८ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गरिएको जानकारी दिए । आत्महत्या गर्नुअघि प्रधानाध्यापक धामीले सामाजिक सञ्जालमा नाम उल्लेख गरेका सबै जनालाई कारागार चलान गरिएको छ ।


कारागार चलान हुनेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रम सिंह कुवर, महाकाली–२ का ५२ वर्षीय दलीदत्त भट्ट, महाकाली–५ का ४२ वर्षीय खिमानन्द भट्ट, ब्यास गाउँपालिका–४ का ५७ वर्षीय प्रमानन्द भट्ट, ३९ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्रदत्त भट्ट, ६९ वर्षीय हरिदत्त भट्ट र बैतडीको पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट रहेका छन् ।
प्रकाउ परेर थुनामा गएकामध्ये पदमराज भट्ट, हरीदत्त भट्ट, बिक्रमसिह कुँवर, दलीदत्त भट्ट, पुष्करराज भट्ट सम्पाल माविकै शिक्षक हुन् भने प्रमान्द भट्ट पञ्चादेवा आवि दम्फाका प्रधानाध्यापक हुन् । यस्तै खेमराज भट्ट सम्पाल माविको विद्यालय भवन निर्माण गरिरहेका निर्माण व्यवसायी हुन भने नरेन्द्र भट्ट नेपाली काग्रेसका नेता हुन् ।


सम्पाल मावि सुनसेरामा कार्यरत प्रधानाध्यापक धामीले गत जेठ ४ गते सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेख्दै विद्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडितपक्ष तथा स्थानीय सर्वसाधारण तीन दिनदेखि निरन्तर धर्ना दिदै आएका थिए । शुक्रबार जिल्ला अदालते सबै जनालाई कारागार पठाउने निर्णय गरेसँगै आन्दोलन रोकिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार