दार्चुला । “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नाराका साथ दार्चुला जिल्लामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दार्चुलाको आयोजनामा सदरमुकाम खलङ्गास्थित अक्सफोर्ड एकेडेमीको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो।


उक्त कार्यक्रमको सहजीकरण महाकाली नगरपालिका खलङ्गा, दार्चुला र अक्सफोर्ड एकेडेमीले गरेका थिए भने शिक्षा विकास तथा समन्वय इकाई दार्चुला, पतञ्जलि योग समिति, महिला पतञ्जलि योग समिति र युवा नेपाल समिति दार्चुलाले सह-आयोजना गरेका थिए।


दिवसको अवसरमा दार्चुला विकास संगठनबाट प्रभातफेरि र्यालि निकालिएको थियाे ।
अक्सफोर्ड एकेडेमीमा आयाेजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, युवा र महिला याेग साधकले याेगका विभिन्न व्याम प्रस्तुति राखेका थिए ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका कार्यालय प्रमुखकाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री बिष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पाैडेल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्त लगायत सुरक्षा निकायका प्रमुख लगायतकाे सहभागीता रहेकाे थियाे ।
यस्तै योग दिवसकै अवसरमा दार्चुलाको मालिकार्जुन गाउँपालिकामा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ। मालिकार्जुन गाउँपालिकाको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाको आयोजना तथा पतञ्जलि योग समिति र युवा नेपाल समिति दार्चुलाको सहजीकरण सहयोगमा ‘अन्तरमाध्यमिक विद्यालय स्तरीय योग प्रतियोगिता’ सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूले शीर्षासन, वृश्चिकासन, धनुरासन, चक्रासन, मयुरासन जस्ता विभिन्न कठिन योग आसनहरू प्रदर्शन गरेका थिए।
योग प्रशिक्षक तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रमहरूमा दैनिक जीवनमा योगको महत्त्व, यसले मानसिक तथा शारीरिक स्वास्थ्यमा पुर्याउने फाइदा र विशेष गरी जेष्ठ नागरिकहरूको स्वस्थ जीवनका लागि योगको आवश्यकतामाथि गाउँपालिका अध्यक्ष हिरासिह धामीले प्रकाश पारिएका थिए ।

















