काठमाडौँ । भारतले नेपालको भूभाग मिच्यो भन्ने कुरा समय समयमा सुनिँदै आएको छ तर चीनले नेपालको भूभाग मिचेको कुरा खासै चर्चाको विषय बन्दैन । नेपाली युवा समूहको एकटोलीले जेठ ३१ गते नापी विभागमा एक ज्ञापनपत्र बुझाउँदै त्यसको छानविन गरी समाधान गर्न आग्रह गरेको छ । सीमा संरक्षण सङ्घर्ष समितिको नामबाट बुझाएको उक्त ज्ञापनपत्रमा सीता ज्योतीको नाम उल्लेख छ ।
सीता ज्योतीसँग सम्पर्क गर्दा उनले नेपालको सयौँ हेक्टर भूभाग चीनले मिच्दा नेपाल किन चुप लागेर बसेको भन्दै आफूहरूले नापी विभागको ध्यानाकर्षण गराएको बताइन् । ‘भारतले नेपालको जग्गा मिचेको छ । त्यसबारेमा निकै चर्चा हुन्छ । बेला बेलामा नेपाल सरकारले पनि चासो लिइरहेको हुन्छ । तर चीनले नेपाली भूभाग मिचेको विषयमा किन मौन बसेको भन्दै आफूहरूले ध्यानाकर्षण गराएका हौँ ।’
उनीहरूले नापी विभागमा बुझाएको ज्ञापनपत्रमा हुम्ला जिल्लाको फुराङको भाँगदारे खोलको ६ हेक्टर, हुम्लाकै फुराङको कर्णाली नदीबाट ४ हेक्टर, रसुवाको केरुङस्थित सत्जेन खोला २ हेक्टर, केरुङको भार्जुग खोलामा १ हेक्टर, रसुवाको जबमु खोलामा ३ हेक्टर, सिन्धुपाल्चोकको भोटेकोसी र खराने खोलामा ७ हेक्टर, सङ्खुवासभाको सुमजुङ्ग खोला, काम खोला, अरुण नदीको नौ हेक्टर जमिन चीनले मिचेको दाबी गरिएको छ ।
सीता ज्योतीले भनिन्, ‘सिन्धुपाल्चोकमा मिचिएको जग्गाको बारेमा आफूहरूले नै अध्ययन गरेर पत्ता लगाएको तथा अन्य ठाउँको बारेमा विभिन्न स्रोतबाट प्राप्त भएको हो ।’ लिखित रूपमा जानकारी गराउनको उद्देश्य सरकारले ती जमिनहरूको बारेमा खोजखबर गरोस् नै भन्ने रहेको उनले बताइन् ।
नापी विभागका निर्देशक एवम् सूचना अधिकृत दामोदर ढकालले ज्ञापनपत्र आएको कुरा आफूले पनि थाहा पाएको बताए । उनीहरूले दाबी गरेअनुसार त्यसरी जग्गा अतिक्रमण भएको तथ्याङ्क विभागमा फेला नपरेको उनले बताए ।
चीनले नेपालको जग्गा अतिक्रमण गर्यो भनी कुरा उठ्न थालेपछि त्यसको बारेमा विभागले अध्ययन सुरु गरेको निर्देशक ढकालले बताए । उनले हालसम्म ५७ नम्बर पिलरमा नेपाल–चीनबीच विवाद रहेको छ । त्यसको बारेमा छलफल भइरहेको तर त्यसबाहेक अन्य ठाउँमा चीनले अतिक्रमण गरेको कुरा विभागको तथ्याङ्कमा उल्लेख नरहेको बताए ।