सिन्धुपाल्चोक ।चाडपर्व नजिकिएसँगै उत्तरी नाका तातोपानीबाट चिनियाँ फलफूल आयातमा वृद्धि भएको छ। नाकाबाट दैनिक चार करोड रुपैयाँबराबरको फलफूल आयात भइरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
असोजको तेस्रो सातादेखि दसैं, तिहार, छठलगायत चाडबाड लक्षित फलफूलको आयातमा वृद्धि भइरहेको हो। चाडबाड मुखैमा आइपुगेकाले नाकाबाट दैनिक आयात बढेको कार्यालयले जनाएको छ। ‘अहिले दैनिक चार करोड रुपैयाँबराबरको चिनियाँ फलफूल नाकाबाट भित्रिरहेको छ,’ तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख दयानन्द केसीले भने, ‘नेपालमै उब्जनी हुने फलफुल पनि नाकाबाट ठूलो परिमाणमा आइरहेको छ।’
धेरै मात्रामा स्याउ र केही मात्रामा अनार र अंगुर विगतदेखि नै आयात भइरहे पनि अरू चिनियाँ फलफूल भने यस पटकदेखि भित्रिन थालेको भन्सार कार्यालयले जनाएको छ। स्याउ, अनार, अंगुरसँगै नासपाती, सुन्तला, अम्बा, हलुवाबेद, लिची, ओखर, किबी, जुनार, ड्रागन फ्रुट्सलयागत एक दर्जनभन्दा बढी किसिमका चिनियाँ फलफूल आयात भइरहेको भन्सार कार्यालयको तथ्यांक छ।
दैनिक आयात भइरहेका फलफूलमध्ये ६० प्रतिशत चिनियाँ स्याउ रहेको भन्सार कार्यालयले जनाएको छ। ‘हामीले अहिलेसम्म यो नाकाबाट स्याउ, अनार र अंगुरमात्रै आएको थाहा पाएका थियौं, अहिले त नेपालमै पाइने फलपूmल पनि आइरहेको छ’, प्रमुख केसीले भने, ‘नेपालमै पाइने फलपूmल ठूलो मात्रामा आयात हुनु हामीलाई पनि अचम्म लागेको छ।’
भन्सार कार्यालयका अनुसार अहिले दैनिक २० चिनियाँ कन्टेनर सामग्री नाकाबाट भित्रिरहेका छन्। चिनियाँ एक कन्टेनर सामग्री बराबर दुई नेपाली कन्टेनर हुन्छ। ‘नाकाबाट भित्रिने सामग्री भरिएको कन्टेनरमध्ये १५–१६ कन्टेनर त फलपूmल मात्रै हुने गरेको छ,’ प्रमुख केसीले भने, ‘आयात सामग्रीको अवस्था हेर्दा फलफुलको माग धेरै रहेको पाएका छौं।’
भन्सारले जनाएअनुसार फलफुलको आयात अवस्थालाई केलाउँदा चिनियाँ कृषि उत्पादनले नेपाली बजार बढाउँदै लगेको देखिन्छ। ‘नाकाबाट फलफुलको आयात बढ्दा हामी खुसी हुनुपर्ने अवस्था रहँदैन’, केसी भन्छन्, ‘चिनियाँ कृषि उत्पादनले नेपाली बजारमा पहुँच बढाउँदै लैजानुलाई नेपाली व्यवसायी बढ्दो विदेश पलायन र परनिर्भरताको पराकाष्ठाको रूपमा बुझ्नु पर्दछ।’
तातोपानी नाका भएर हाल आयात भइरहेका तरकारी र फलफूल २०७२ को भूकम्पअघि नेपाल भएर चीन निर्यात हुन्थ्यो। विगतमा तातोपानीबाट धेरै परिमाणमा चिनियाँ तयारी पोसाक र लत्ताकपडा आयात हुने नाकाको रूपमा चिनिन्थ्यो। तर भूकम्पको केही वर्षअघिदेखि चिनियाँ लसुन, प्याजजस्ता सीमित प्रकारका कृषिजन्य उत्पादन आयात हुन थालेका थिए। गत भदौ १५ गतेदेखि चीनले नाकामा मानवीय आवागमन खुलाएपछि तातोपानीमा व्यापारिक गतिविधि बढ्दो छ।