भारतीय सहयोगमा निर्मित मरामावी बालुवाटारको भवन उदघाटन

नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको १ करोड ९२ लाख रूपैयाँ आर्थिक सहयोगमा निर्मित काठमाडौंको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको भवन उदघाटन भएको छ।

भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले संयुक्त रूपमा भवन उद्घाटन गरी औपचारिक रूपमा हस्तान्तरण गरे।

उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तल्ले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको छ।

भारत सरकार र नेपाल सरकारबीच भएको एक सम्झौताअनुरूप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रूपमा निर्माण गरिएको हो। जिल्ला समन्वय समिति, काठमाडौंले यस परियोजनाको कार्यान्वयन गरेको हो।

उदघाटन समारोहमा बोल्दै दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबीचको यो साझेदारीले पछिल्ला वर्षहरूमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए।

उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको बताए।

महेन्द्र राष्ट्रिय विद्यालयको स्थापना जागरूक शिक्षकहरूको संयुक्त प्रयासमा सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रूपमा भएको थियो। नेपाल सरकारले सन् १९७३ मा यस विद्यालयलाई प्राथमिक विद्यालयको रूपमा मान्यता दिएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार