काठमाण्डाै – चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । ग्रेट हल अफ दि पिपलमा भेटवार्ता शुरु भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो ।
उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवम् द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवम् सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कङ्ग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन सम्बन्ध सन् १९५५ मा औपचारिकरूपमा स्थापना हुनुभन्दा पहिले पाँचौँ शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै शुरु भएको उल्लेख गर्नुभयो । उहाँले यस भ्रमणका क्रममा आफ्नो प्रधानमन्त्रीको हैसियतमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भइ नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई ज्ञापन गर्नुभयो ।
त्यसैगरी अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशीलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने बताउनुभयो । चिनियाँ राष्ट्रपति सी जिनपिङले यस भ्रमणलाई महत्त्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ भएको उहाँले बताउनुभयो । अध्यक्ष चाओले नेसनल पिपल अफ कङ्ग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्रीलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।