नेपाल भारत जेटीटी बैठक मंगलबार दिल्लीमा, क्रस बोर्डर प्रसारणलाइन मुख्य एजेन्डा

काठमाडौं। ढल्केबर-मुज्जफरपुर ४०० किलोभोल्ट (केभी) प्रसारणलाइनको क्षमता बढाउने विषयमा भारतसँग छलफल हुने भएको छ।मंगलबार नेपाल भारत सयुक्त प्राविधिक टोली (जेटीटी) को नयाँ दिल्लीमा बस्दैछ। उक्त बैठकमा ढल्केबर-मुज्जफरपुर प्रसारणलाइनको क्षमता अभिवृद्धिका लागि छलफल गर्ने एजेन्डा राखिएको छ। अहिले यो प्रसारणलाइनबाट ८०० मेगावाट आयात निर्यात गर्ने सक्ने गरी क्षमता तोकिएको छ। १००० मेगावाटसम्म आयात निर्यात गर्ने विषयमा यो बैठकमा छलफल गर्न लागिएको छ। ४५२ मेगावाट निर्यात हुदै आएको यो प्रसारणलाइनबाट करिब एक सातादेखि ५२२ मेगावाट निर्यात हुँदै आएको छ। भने हिउँदमा अपुग हुने बिजुली समेत आयात हुने गरेको छ। १४औं जेटीटीको बैठकमा सहभागी हुन ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वको टोली सोमबार दिल्ली पुगेको छ। विद्युत् विकास विभागका उपमहानिर्देशक सञ्जय ढुंगेल,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रवल अधिकारी, दीर्घायूकुमार श्रेष्ठलगायत टोलीमा सहभागी छन्। भारतका तर्फबाट केन्द्रीय विद्युत् प्राधिकरणका प्रतिनिधि सहभागी हुनेछन्।

उपकार्यकारी निर्देशक प्रवल अधिकारीका अनुसार भने यो प्राविधिक बैठक भएकाले निश्चित एजेन्डा तोकिएको छैन। क्रस बोर्डर प्रसारणलाइन सञ्चालनका विषयमा छलफल हुनेछ।

ऊर्जा मन्त्रालयका अधिकारीका अनुसार विहारसँग जोडिएका १३२ केभी प्रसारणलाइनहरुको क्षमता अभिवृद्धिका विषयमा छलफल हुनेछ। १३२ केभी प्रसारणलाइनलाई २२० केभीमा स्तरोन्नति गर्ने योजना छ। टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारणलाइन स्तरोन्नती पहिलो प्राथमिकतामा छ। भारतले यसअघि १३२ केभी क्षमताका प्रसारणलाइनबाट नेपालमा आयात गर्न दिए पनि निर्यातका लागि अनुमति दिएको थिएन। तर भदौ तेस्रो साताबाट निर्यातको समेत अनुमति दिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार