दार्चुलामा ३ हजार २ सय ८७ उद्योग दर्ता, ५ हजार बढीलाई रोजगारी

दार्चुला । दार्चुलामा हालसम्म ३ हजार २ सय ८७ उद्योग दर्ता भएका छन्। ती उद्योगमा २० करोड ५२ लाख ४९ हजार २ सय रुपैयाँ पुँजी लगानी रहेको छ भने ५ हजार ८ सय ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

१२औँ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख रमेश ओखेडाले जिल्लाको औद्योगिक अवस्थाबारे प्रस्तुत गर्नुभएको कार्यपत्रमा उक्त तथ्याङ्क उल्लेख गरिएको हो।

मङ्सिर ९ गते आयोजित कार्यक्रममा ‘दार्चुला जिल्लाको औद्योगिक विकासको वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी कार्यदिशा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै जिल्लाको उद्योग क्षेत्रको अवस्था, लगानी, रोजगारी र सम्भावनाबारे जानकारी गराइएको थियो।

कार्यपत्रअनुसार जिल्लामा कृषि तथा वनजन्य १ हजार ६ सय ३९, सेवामूलक १ हजार ३ सय ३८ र उत्पादनमूलक ३ सय १० उद्योग दर्ता छन्। कृषि तथा वनजन्य उद्योगमा १२ करोड ५४ लाख ९२ हजार २ सय रुपैयाँ, सेवामूलक उद्योगमा ६ करोड ६९ लाख ९६ हजार रुपैयाँ र उत्पादनमूलक उद्योगमा १ करोड २७ लाख ६१ हजार रुपैयाँ पुँजी लगानी रहेको छ।

यी उद्योगमध्ये कृषि तथा वनजन्य उद्योगले ३ हजार ८ सय ९१, सेवामूलक उद्योगले १ हजार २ सय ९२ र उत्पादनमूलक उद्योगले ६ सय ६४ जनालाई रोजगारी दिएका छन्।

यस्तै, जिल्लामा २ हजार ५ सय १६ व्यापारिक फर्म दर्ता भई सञ्चालनमा रहेका छन्। सदरमुकाम खलङ्गासहित गोकुलेश्वर, मालिकार्जुन, दुहुँ, व्याँस, नौगाड, मार्मा, अपिहिमाल र लेकम क्षेत्रका बजारमा खुद्रा, थोक तथा सेवामूलक व्यवसाय सञ्चालनमा छन्।

चालु आर्थिक वर्षमा उद्यमशीलता र सीप विकासलाई प्राथमिकता

घरेलु तथा साना उद्योग कार्यालयले चालु आर्थिक वर्षमा उद्यमशीलता विकास, सीपमूलक तालिम तथा प्रविधि हस्तान्तरणका कार्यक्रमलाई प्राथमिकता दिएको छ। प्रविधि हस्तान्तरण कार्यक्रमका लागि १४ लाख ५० हजार रुपैयाँ र ‘एक प्रदेश निर्वाचन क्षेत्र, एक विशेष उद्योग प्रवर्द्धन’ कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै, उद्यमशीलता विकास तालिम र मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रमका लागि ५–५ लाख रुपैयाँ, मागमा आधारित सीपमूलक स्तरोन्नति तालिमका लागि ४ लाख रुपैयाँ तथा कारागार र सुधार केन्द्र लक्षित सीप तालिम र भगत सर्वजित सीप विकास कार्यक्रमका लागि ३–३ लाख रुपैयाँ विनियोजन गरिएको कार्यपत्रमा उल्लेख छ।

जडीबुटी, स्थानीय सीप र पर्यटन उद्योगका सम्भावना

दार्चुलामा जडीबुटी प्रशोधन, स्थानीय सीपमा आधारित उत्पादन, कृषि तथा पशुपालन र पर्यटन उद्योगको विकासका प्रशस्त सम्भावना रहेको कार्यपत्रमा औँल्याइएको छ। यार्सागुम्बा, चिराइतो, जटामसी, पाँचऔँले, अल्लो, डाले चुक र टिमुरजस्ता जडीबुटीको सङ्कलन तथा प्रशोधनलाई उद्योगको आधार बनाउन सकिने उल्लेख छ।

त्यस्तै, शौका समुदायलगायत स्थानीय समुदायको परम्परागत सीपमा आधारित राडीपाखी, गलैँचा, ऊनी तथा अल्लो कपडा उत्पादन, ओखर, स्याउ, सुन्तला, किवी, मह, दुग्धजन्य उत्पादन तथा भेडा–च्याङ्ग्रापालनलाई व्यावसायिक बनाउन सकिने सम्भावना रहेको छ।

भारत र चीनसँगको सीमावर्ती व्यापार तथा अपिहिमाल, मालिकार्जुन धाम, व्याँस क्षेत्र र कैलाश मानसरोवर मार्गसँग जोडिएको पर्यटनलाई समेत उद्योग विकासको सम्भावित आधारका रूपमा प्रस्तुत गरिएको छ।

तर, उच्च ढुवानी लागत, सहुलियतपूर्ण कर्जा र बिमामा पहुँचको कमी, आधुनिक प्याकेजिङ तथा लेबलिङ र गुणस्तर प्रमाणीकरणको अभाव, युवा जनशक्ति पलायन, निष्क्रिय उद्योगको व्यवस्थापन तथा सीमावर्ती भारतीय बजारका सस्ता वस्तुसँगको प्रतिस्पर्धा उद्योग विकासका प्रमुख चुनौती रहेको कार्यपत्रमा उल्लेख छ।

‘एक पालिका, एक विशिष्ट उत्पादन’ अवधारणामा जोड

आगामी दिनमा स्थानीय तहसँग समन्वय गरी ‘एक पालिका, एक विशिष्ट उत्पादन’ अवधारणाअनुसार उत्पादनका पकेट क्षेत्र विकास गर्ने, स्थानीय उत्पादनको प्याकेजिङ तथा ब्रान्डिङमा प्राविधिक सहयोग विस्तार गर्ने र महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियतपूर्ण कर्जामा जोड्ने कार्यालयको लक्ष्य रहेको छ।

उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा घुम्ती शिविर सञ्चालन गरी गाउँगाउँमा उद्योग दर्ता, नवीकरण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ।

सरकारी नीति, प्राविधिक सहयोग र निजी क्षेत्रको लगानीलाई एकीकृत गर्न सके लघु, घरेलु तथा साना उद्योगमार्फत दार्चुलालाई आत्मनिर्भर र उत्पादनमुखी जिल्लाका रूपमा विकास गर्न सकिने निष्कर्ष कार्यपत्रले निकालेको छ।

सम्बन्धित समाचार

ताजा समाचार