धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको उद्याेग पर्यटन बन तथा वातावरणमा मन्त्री तथा सरकारका प्रवक्ता प्रकाश रावलले जानकारी दिए ।
बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीहरूको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रदेश सरकारले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा आवश्यक सहयोग पुर्याउने जनाएको छ।











