व्यापारिक र सांस्कृतिक महत्व बोकेको ऐतिहासिक जोलजीवि मेला सुरु

नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगमस्थल जोलजिवीमा हरेक वर्ष लाग्दै आएको ऐतिहासिक व्यापारिक तथा सांस्कृतिक महत्व बोकेको जोलजीवि मेला सुरु भएको छ । सदियौं वर्ष पुरानो ऐतिहासिक मेलाको शनिबार प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले उद्घाटन गरे ।
सन् १८७१ बाट निरन्तर हुँदै आएको जोलजीवि मेला पछिल्लो समय स्थानीय सरकारले लगाउन थालेको छ । ऐतिहासिक महत्वलाई निरन्तरता दिने उद्देश्य अनुरुप जोलजीवि मेला लाग्दै आएको छ ।
नेपाल, भारत र तिब्बत तिन देशको संस्कृति देख्न सकिने जौलजिवी मेला व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । सन् १८७१ सालमा भारतको उत्तराखण्डको जोलजीविमा अस्कोटी राजा पुष्कर पालले मेलाको सुरुवात गरेको मानिन्छ ।
मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका बडूले यो व्यापारिक मेलाको महत्व घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, यो मेला व्यापारको लागि प्रख्यात थियो । ठाउँ ठाउँका व्यापारी यहाँ व्यापार थाप्न आउथे । घोडाको व्यापार उस्तै हुन्थ्यो । स्थानीयले उत्पादन गरेका उत्पादन विक्री वितरण हुन्थ्यो । तर अहिले यो परम्परा विस्तार लोप हुँदै गएको छ । ऐतिहासिक सांस्कृतिक परम्परालाई अझै उजागर गर्न सके यसको महत्व रहन्छ ।
जोलजीवि मेलाको सम्बन्ध अन्तर्राष्ट्रिय व्यापार सँग सम्बन्ध छ । व्यापार व्यवसाय अझै व्यवस्थित गर्न नेपाल–भारत जोड्न झोलुङ्गे पुल निर्माण गरिएका छन् । मोटरेवल पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । चीनसँगको व्यापार जोड्न टिंकर नाका खुलेको छ । यसको महत्व यस अर्थमा हो, नेता बडूले भने ।
प्रदेश सभा सदस्य बिक्रमसिह धामीले, जोलजीविको ऐतिहासिक सांस्कृति महत्व धेरै भएको बताए । पवित्र गंगास्थल रहेको यो क्षेत्रको महत्व थोरैले बुझेका छन् । यसको विकास गर्न सबैले हातेमालो गर्नुपर्छ उनले भनेका छन् । अहिलेसम्म आफुले हरेक वर्ष मेलामा सहभागिता भए पनि केहि काम गर्न नसकेको भन्दै आफुले आगामी दिनमा कुनै न कुनै रुपमा यहाँँको विकासमा योगदान पु¥याउने बताए ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप), शैल्यशिखर नगर प्रमुख विजयसिह धामी, महाकाली नगर प्रमुख नरसिह चैसिर, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामी, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाली काग्रेसका नेता एवं निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी, नेकपा एमालेका प्रदेश कमिटी सदस्य उमेशसिह खत्री, नेकपा माओवादी केन्द्रका संयोजक प्रेम पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
ऐतिहासिक जोलजीवि मेला हाम्रो शान, कला संस्कृति जगेर्ना हाम्रो अभियान, भन्ने मूल नाराका साथ यो वर्ष ऐतिहासिक जोलजीवि सांस्कृतिक महोत्सव सुरु भएको हो । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागिता रहनेछ ।
गाउँपालिकाले मेलामा जिल्लास्तरीय खुला गायन प्रतियोगिता, स्थानीय स्थानीय सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी लगायतका कार्यक्रम राखेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार