नाका जोड्ने सडकमा बजेट अभावले समस्या

नेपाली सेनाको जिम्मामा निर्माणाधीन नाका जोड्ने सडक आयोजनामा बजेटको समस्या भएको छ । उत्तर–दक्षिण जोड्ने सडकमा पर्याप्त बजेट नहुँदा कामले गति लिन सकेको छैन । थोरै बजेटले गर्दा लक्ष्य पनि सोहीअनुसार निर्धारण गरिएको सेनाले जनाएको छ ।
सेनाले निर्माण गरिरहेको दार्चुलाको महत्वपूर्ण सडक हो, दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकर । ट्र्याक खोल्नुपर्ने जुन खण्डको दूरी ७९ किमि छ । सेनाले ०७७ माघ २८ मा यो सडक निर्माणको जिम्मा लिएको हो । अहिलेसम्म १३.५९० किमि मात्र ट्र्याक खोलिएको छ ।
यो सडक नबन्दा सर्वसाधारणले सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाङरु, लिपुलेक, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । स्थानीय जनप्रतिनिधि, सांसदले पर्याप्त बजेट उपलब्ध गराएर छिटो काम सक्ने वातावरण बनाउनुपर्नेमा सरकारलाई दबाब दिइरहेका छन ।
यो महत्वपूर्ण सडक भए पनि पर्याप्त बजेट अभावमा कामको गति बढाउन नसकिएको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए । ‘यो सडकको दूरी लामो छ, यही गतिमा सडक बनाउने हो भने सक्नलाई वर्षौं लाग्छ,’ उनले भने, ‘त्यसैले छिटो सक्न पर्याप्त बजेट र उपकरण बढाउनुपर्छ, त्यो हुन सकेको छैन ।’
यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ९ करोड रुपैयाँ बजेट रहेकाले उक्त रकमले १.८ किमि नयाँ ट्र्याक खोल्ने र १.२ किमि सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ । ‘बजेट बढी भएको भए त्यहीअनुसार लक्ष्य निर्धारण गरेर ट्र्याक खोलिन्थ्यो,’ उनले भने, ‘थोरै बजेट भएकाले चाहेर पनि धेरै काम गर्न सकिएको छैन ।’
यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म ४२५ किमि छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो । सेनाले आर्थिक वर्ष ०८८÷८९ भित्र उक्त खण्डको ट्र्याक खोल्ने काम सकिसक्नुपर्नेछ ।
‘मागअनुसार बजेट नहुँदा नाका जोड्ने सडकमा समग्र रूपमा प्रगति कम छ, जति बजेट उपलब्ध हुन्छ, त्यहीअनुसार काम र प्रगति हुने हो,’ प्रवक्ता केसीले भने, ‘निर्माण गर्न सक्ने क्षमताअनुसार बजेट उपलब्ध हुन सके लक्ष्यभन्दा धेरै काम गर्न सकिन्थ्यो ।’ पर्याप्त बजेट भए तोकिएकै समयमा काम सक्न समस्या नहुने उनको दाबी छ ।

सम्बन्धित समाचार

ताजा समाचार