धनगढीः सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) रबिन्द्र केसीले सीमा नाकाका प्रमुखहरुलाई विशेष निर्देशन दिएका छन्।
विशेष गरेर कैलाली र कञ्चनपुर जिल्लास्थित कार्यरत युनिट इन्चार्जहरुलाई शान्ति सुरक्षाको सवालमा डिआइजी केसीले उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्। हिजो (आइतबार) कैलालीमा आयोजित एक कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाको शान्ति–सुरक्षाको वर्तमान अवस्था, ट्राफिक व्यवस्थापन तथा विपद व्यवस्थापनको बारेमा वृह्त समिक्षा नै गरिएको थियो।

सो कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्ट समेत सहभागि थिए। प्रहरी अधिकृतहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिवबहादुर वस्नेत, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुर तथा दुवै जिल्लाका सिमानाका प्रमुख सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरेर ६० जना प्रहरी उपस्थिती भएका थिए।
सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरुले निष्ठावान, इमान्दार तथा सिर्जनशील भएर काम गर्नुपर्ने उच्च प्रहरी अधिकृतहरुले बताएका छन्। सीमा नाकाबाट हुने भन्सार चोरी निकासी, लागूऔषध, जुवातास तथा देहव्यापार लगायत गैरकानुनी कृयाकलाप विरुद्ध शून्य सहनशीलताका साथ प्रस्तुत हुन सुदूरपश्चिम प्रदेशका डिआइजी केसीले निर्देशन नै दिएका छन्।
सिमानाकाबाट हुने भन्सार चोरी–तस्करी तथा अपराधिक गतिविधिका विरुद्व कडाइका साथ प्रस्तुत हुन, लागूऔषधको ओसारपसार र विक्रीवितरण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न, सवारी दुर्घटना न्यूनिकरण र नियन्त्रणका लागि योजनावद्ध रुपमा परिचालन हुन मातहतका प्रहरी युनिटलाई निर्देशन दिने काम भएको छ।
त्यस्तै पेण्डिङ मुद्दा अनुसन्धान द्रुत गतिमा अगाडी बढाउन, फरार प्रतिवादीहरूको खोजतलास गर्न, सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुन, नागरीक र प्रहरीबिच सुमधुर सम्बन्ध स्थापित गरि नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न, गैह्रव्यवसायिक र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासन भएर उच्च मनोबलका साथ कार्य सम्पादन गर्न समेत निर्देशन दिइएको छ। साथै सूचना संकलन र विश्लेषणलाई थप प्रभावकारी बनाउन र आम जनमानसले प्रहरीसँग अपनत्व महसुश गर्ने गरी कार्य सम्पादन गर्न समेत डिआइजी केसीले मातहतका प्रहरी युनिटलाई निर्देशन दिएका छन्।






