धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले किसानलाई मल, बीउ र कीटनाशक औषधिको सहज उपलब्धतादेखि सीमावर्ती क्षेत्रमा राज्यको उपस्थिति बलियो बनाउन सरकारसँग माग गरेको छ।
बिहीबार धनगढीमा बसेको प्रदेश कमिटीको १२औँ बैठकले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनजीविकादेखि राष्ट्रिय सुरक्षासम्मका विषयलाई प्राथमिकतामा राख्न माग गरेको हो।

बैठकले किसानले समयमा मल, बीउ तथा कीटनाशक औषधि पाउन नसकेको भन्दै तत्काल आपूर्ति व्यवस्था सहज बनाउन माग गरेको छ। चाडपर्व नजिकिँदै गर्दा एलपी ग्यासलगायत इन्धन तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन पनि सरकारलाई सचेत गराइएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले जानकारी दिए।

एमाले प्रदेश कमिटीले कालापानी, सुस्तालगायत सीमावर्ती क्षेत्रमा भइरहेको विदेशी हस्तक्षेपप्रति चासो व्यक्त गर्दै सीमा क्षेत्रमा राज्यको उपस्थिति थप बलियो बनाउनुपर्नेमा जोड दिएको छ। दार्चुलाको तिङ्कर र छाङरुसम्म नेपालतर्फबाट सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनसमेत सरकारसँग माग गरिएको छ।

त्यस्तै, प्रदेश सरकारलाई जनमुखी बजेट, नीति तथा कार्यक्रम ल्याएर यथाशीघ्र बजेट पारित गर्न एमालेले आग्रह गरेको छ।
गोदावरीमा प्रदेश राजधानी निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी काम अघि बढाउनुपर्ने माग पनि बैठकले गरेको छ।
प्रदेशसभाबाट राजधानी निर्माणसम्बन्धी निर्णय भइसकेको र यसअघि देखिएको कानुनी अवरोध हटेकाले अब निर्माण प्रक्रिया अघि बढाउनुपर्ने एमालेको धारणा छ।
धनगढीस्थित पार्टी कार्यालयमा प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसीको अध्यक्षतामा बसेको बैठकमा एमाले केन्द्रीय कमिटीका उपमहासचिव लेखराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी थिए।
केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज दामोदर भण्डारीसहित जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
बैठकमा अध्यक्ष जैसीले प्रदेशमा पार्टीले गरेका गतिविधि तथा कामको समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए। उपसचिव तथा कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुख नरबहादुर विश्वकर्माले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय र आर्थिक वर्ष २०८३/८४ को अनुमानित बजेट प्रस्तुत गरेका थिए।
बैठकले पार्टीको जागरण अभियानलाई थप प्रभावकारी बनाउन असोज १५ गतेसम्म जिल्लास्तरीय बैठक सम्पन्न गर्ने निर्णय गरेको छ। अधिवेशन हुन बाँकी जनसंगठनका अधिवेशन तथा सम्मेलन मंसिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि गरिएको उनले बताए ।
त्यसैगरी, प्रदेश कमिटीको मुखपत्र ‘सूर्य युग’को दोस्रो अंक प्रकाशन गर्ने र पार्टी स्कुल विभागमार्फत बाँकी जिल्लामा दायित्वबोधसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।











