अपिहिमालकाे भट्टार पहिरो प्रभावितको राहत र पुनर्स्थापनामा प्रदेश सरकारले आवश्यक सहयोग गर्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण प्रभावित तथा विस्थापित परिवारको राहत, पुनर्स्थापना र पहिरो रोकथामका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

भट्टार क्षेत्रमा गएको पहिरोका कारण विस्थापित परिवारको राहत तथा पुनर्स्थापनाका साथै पहिरो जाने क्रम नरोकिएकाले जोखिम न्यूनीकरण र आवश्यक सहयोगको माग गर्दै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीसहितको टोलीले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझ्दै यस्ताे बताएका हुन् ।

ज्ञापनपत्र बुझ्दै टोलीसँगको छलफलका क्रममा मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनर्स्थापनाका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए ।

उनले पहिरोका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारबाट गर्न सकिने आवश्यक पहल तथा सहयोगमा कमी हुन नदिने बताए ।
भट्टार क्षेत्रमा पहिरो जाने क्रम जारी रहँदा चौलानी नदीसमेत प्रभावित भएको छ। पहिरोका कारण नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो।

ज्ञापनपत्र बुझाउँदै गाउँपालिका अध्यक्षद्वयको टोलीले पहिरोका कारण विस्थापित परिवारको तत्काल राहत तथा पुनर्स्थापनासँगै पहिरो पूर्ण रूपमा नरोकिएका कारण चौलानि नदी किनारका बस्तीमा जोखिम कायमै रहेको जानकारी गराएको थियो। जोखिम न्यूनीकरण, प्रभावित नागरिकको सुरक्षा तथा आवश्यक पूर्वाधार संरक्षणका लागि प्रदेश सरकारबाट तत्काल आवश्यक सहयोग उपलब्ध गराउन उनीहरूले आग्रह गरेका थिए।

यसअघि पहिरोको जोखिममा रहेका भट्टारका परिवारलाई सुरक्षित स्थानमा सारिएको विवरण सार्वजनिक भएको छ। पहिरो निरन्तर खसिरहेकाले नदीको बहावमा पुनः अवरोध आउन सक्ने जोखिमसमेत रहेको जनाइएको छ।
मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकको सुरक्षा र राहतलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार