२–३ असार बैतडीको डिलाशैनी गाउँपालिका–६ मा नेपाल भारतका साहित्यकार तथा कविवरहरुको भेला भयो । भारतको सिक्किमदेखि नेपालका सुदूरपश्चिम प्रदेशका साहित्यकार कविहरुको भेलाको निष्कर्ष थियो, ‘साहित्यको कुनै सीमा हुँदैन् ।’
साहित्य एवं अन्तर्राष्ट्रिय कबि गोष्ठीको उद्देश्य थियो, ‘चर्मण्वती सभ्यताको बिषयमा सबैलाई जानकारी दिने र चौलानी तटीय क्षेत्रका पालिकाहरुलाई चर्मण्वती सभ्यतामा जोड्ने ।’ चमेलियाको मुहान अपिहिमाल गाउँपालिकाको दार्चुलामा पर्छ । ७१३२ मिटर उचाईको फेदबाट चमेलिया नदी बग्छ । उद्गमस्थानमा अहिले मन्दिर निर्माण गरेर पूर्वाधार संरचनाको थालनी गरिएको छ ।
चमेलिया नदी अपिहिमाल, मार्मा गाउँपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका हुँदै, बैतडीको डिलाशैनी, दोगडाकेदार गाउँपालिका र दशरचन्द नगरपालिकामा सम्म जोडिएको छ । चर्मण्वती अर्थात चमेलियाको सम्भयताको विकाससँगै कसरी स्वच्छन्द राख्न सकिन्छ भनेर जनप्रतिनिधिबीच विचार विमर्श गरिएको छ ।
अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे, देखि लिएर बैतडी डिलाशैनी अध्यक्ष सन्तोषप्रकाश जोशी, शैल्यशिखर नगर प्रमुख विजयसिह धामी सँग चमेलिया सभ्यता र स्थानीय तहको दायित्व बारेमा सम्वाद गरिएको हो । सम्वादको उद्देश्य भनेकै चमेलिया सम्भयता संरक्षण र स्वच्छन्द कायम कसरी गर्न सकिन्छ भन्ने नै हो, डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने ।
वातावरणमा परिरहेको दिनदिनैको प्रभावलाई कसरी कमगर्न सकिन्छ । वातावरणीय प्रभाव पर्न नदिन के गर्ने । स्थानीयस्तरमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भनेर हामीले छलफल गरेका छौं जोशीले भने । दार्चुला–बैतडीका जनप्रतिनिधिले अहिलेदेखिनै चर्मण्वती स्वच्छताको बारेमा ध्यान दिन सक्यौं भने भावी पुस्तालाई पनि यसले फाइदा पु¥याउँछ, ।
गंगादशहराको दिनलाई चर्मण्वती दिवसको रुपमा मनाइएको छ । नेपालको सुदूरपश्चिम क्षेत्र र भारतको कुमाउ क्षेत्रको संस्कृति, भाषा, भेषभुषा मिल्दोजुल्दो छ । साझा जीवनशैली रहेको यो क्षेत्रमा सीमाको पर्खाल भएपनि भावना र साहित्यको तादम्यताले बेलाबेलामा एकाकार गराउने गरेको छ ।
साहित्य सम्मेलनमा सहभागी भारतका साहित्यकार डा. पिताम्बर अवस्थीले साहित्यले सीमा क्षेत्रमा सम्बन्ध बलियो बनाउन भूमिका खेलेको बताए । आफूले भारतमा ‘बेटी बचाओ, बेटी पढाओ’तथा नसामुक्त अभियान सञ्चालन गरेकाले सोही अभियानका बारेमा छिमेकी देश नेपालमा समेत अनुभव आदानप्रदान गर्न आएको बताए ।
उनले भने ‘चर्मण्वती साहित्यक सम्मेलनमा सहभागी हुन पाउँदा निकै हर्षित छु । हामीले हाम्रो साझा संस्कृतिका बिषयमा छलफल ग¥यौं । यसले सीमा क्षेत्रका हामी नागरिकहरुबीचको सम्बन्धलाई समेत थप मजबुत बनाएको छ ।
साहित्य सम्मेलनमै प्रसिद्ध कुमाउनी गायिका भगवती दनुपुरिया पनि सहभागी भइन् । उनले गाएका गीतमा नेपाली दर्शक र श्रोताले भरपुर मनोरञ्जन दिलाए ।
भारतको बरेलीबाट आएका साहित्यकार डा. अरुणप्रतापसिंह भदौरियाले आफूहरुले वातावरण संरक्षणमा चालेको अभियानका बारेमा जानकारी गराए । साहित्यका दायरा अनेक हुन्छन् । यहाँ पर्यावरणीय महत्वबारे पनि चर्चा भयो ।
नेपालको मानसखण्ड क्षेत्र र भारतको कुमाउ क्षेत्रमा साझा संस्कृति भएकाले साहित्यका माध्यमबाट आपसी सम्बन्ध बलियो हुँदै गएको साहित्यकार रमेश पन्त ‘मितबन्धु’ बताउँछन् । उनले भने ‘म पनि भारतका धेरै ठाउँमा साहित्यक कार्यक्रममा सहभागी भएको छु । हाम्रा साझा संस्कृति, साहित्य र भाषाका बिषयमा छलफल भएको छ । यसले हामी सीमा क्षेत्रका बासिन्दाहरुको आपसी सम्बन्ध बलियो बनाउदै लगेको छ ।’
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.हेमराज पन्तले साहित्यका माध्यमबाट समाजमा सकारात्मक वातारणको सिर्जना हुने बताए । उनले भने, साहित्य मानिसलाई जोड्ने माध्यम हो । साहित्क अनेकन रुप छन् । हामीले आफ्नो क्षेत्रको संस्कृतिको मात्र होइन बाह्य राष्ट्रको संस्कृति सम्बन्धबारे जानकारी लिनुपर्छ ।
साहित्य सम्मेलनले सीमा क्षेत्रका नागरिकमा आपसी सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेलेको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । दुवै देशका सीमा क्षेत्रका साहित्यक मनहरु एकै ठाउँमा बसेर सभ्यताका बिषयमा छलफल भएको उनको भनाइ छ । यो कार्यक्रमले कबि एवं साहित्यकारबाट संस्कृति संरक्षण र पालिकाको उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बोहराले चर्मण्वतीको विकासको लागि सबै स्थानीय तह सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे ।
डिलाशैनी गाउँपालिकाको मुख्य प्रवद्र्धनमा राष्ट्रियता संरक्षण अभियानले आयोजना गरेको गोष्ठीले सभ्यताको विकास र विस्तारका लागि सहयोग पुर्याउने राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए । उनले भने ‘साहित्यको सीमा हुँदैन् । त्यसैले हामीले आयोजना गरेको साहित्य सम्मेलनमा सीमावर्ती भारतीय साहित्यकारहरुलाई पनि बोलाएका हौं । यसले हामी सीमा क्षेत्रका नागरिकको सम्बन्ध बलियो भएको छ ।’
चमेलिया मुहान क्षेत्रमै समस्या बढ्दै
चमेलियाको मुहान क्षेत्र मानिएको अपिहिमाल फेदसम्मै अहिले मानिसको आवतजावत चाप बढेको छ । अपि बेसक्याम्प घुम्न जानेदेखि लिएर जडिबुटी संकलनको समयमा महिनौदिनसम्म मानिसको भीड अपि फेदमा छ ।
पशुचौपाया त्यही छन् । प्लाष्टिकजन्य बस्तुको प्रयोग अत्यधिक बढेको छ । जथाभावी रुपमा काठ फडानी छ । प्राकृतिक रुपमा दोहन अपिफेदसम्मै बढेको छ, अपिहिमाल गाउँपालिका–२ का अङ्गतसिह लोथ्यालले भने । यस्तै अवस्था रह्यो भने छिट्टै अपिक्षेत्रसम्म विनाको सामाना झेल्नुपर्ने छ ।
भौतिक पूर्वाधार निर्माण संरचना देखि लिएर जथाभावी फडानी, आगजनीका कारण वेशक्याम्पमै फोहोर बढ्न थालेको छ । हजारौको संख्यामा यार्सागुम्बा संकलक दुई महिनासम्म यही बसेका छन् । प्याकिङको रुपमा लगेका वस्तु फाल्ने काम यहि भएको छ ।
मुहान सफा भएर त्यसभन्दा तल क्रमश फोहोर बढ्दै गएको छ । विगतको जस्तो चमेलिया स्वँच्छ छ भनेर भन्न सकिने अवस्था नरहेको लोथ्यालको भनाई छ ।


साहित्यले जोड्दै सीमामा सम्बन्ध




