सरकारले सुदूरपश्चिम, गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । सरकारबीच समन्वय हुन नसकेको भन्दै प्रदेश प्रमुख फेरिएका हुन् ।
नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना नेकपा एमालेका हुन् ।
झापाकी सुमित्रा भण्डारी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला डेनमार्कको लागि राजदूत सिफारिस भएर पनि सरकार ढलेपछि नियुक्ति नपाएकी महिला नेता हुन् । प्राध्यापन पेशाबाट अवकाश पाएकी भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघकी नेतृ हुन् ।
अर्घाखाँचीका नजिर मिया नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा संविधानसभा सदस्य हुन् । उनी नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्ष हुन् ।
डिल्लीराज भट्ट डोटीका हुन् । उनी नेकपा एमालेका सल्लाहकार छन् । उनी राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका थिए ।


किन फेरिए सुदूरपश्चिमको प्रदेश प्रमुख





