मालिकार्जुन जात्रामा मदिरा निषेधदेखि सवारी आवागमन नियन्त्रणसम्म !

दार्चुला । दार्चुलाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मालिकार्जुन राष्ट्रिय धाममा लाग्ने शिखर पूजन तथा रात्रिकालीन जात्रालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन मालिकार्जुन गाउँपालिकाले १३ बुँदे निर्णय गरेको छ ।
मालिकार्जुन गाउँपालिकाकाे आयाेजनामा मालिकार्जुन मडमा बसेकाे सर्वपक्षीय बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

मालिकार्जुन गाउँपालिका–३ मा रहेको मालिकार्जुन राष्ट्रिय धाममा आगामी मंसिर ६ गते कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन शिखर पूजन तथा दर्शन जात्रा र मंसिर ७ गते कार्तिक शुक्लपक्ष चतुर्दशीका दिन मालिकार्जुन मन्दिरमा रात्रिकालीन जात्रा लाग्ने अवसरमा गाउँपालिकाले यस्तो निर्णय गरेको हाे।

जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन विकास समिति, जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय व्यापारी, सञ्चारकर्मी, व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा बसेको संयुक्त भेलाले यस्ताे निर्णय गरेकाे गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिए ।

सर्वदलीय सर्वपक्षीय बैठकपछि गाउँपालिकाले जारी गरेको अपिलमा मंसिर ४ गते बिहान ६ बजेदेखि मंसिर ८ गते दिउँसो १२ बजेसम्म मालिकार्जुन गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५ र ८, शैल्यशिखर नगरपालिकाका वडा नं. ५, ६ र ७, महाकाली नगरपालिकाका वडा नं. ९ तथा लेकम गाउँपालिकाका वडा नं. ४, ५ र ६ क्षेत्रमा मदिरा ओसारपसार नगर्न तथा नगराउन आग्रह गरिएको छ ।

त्यसैगरी मंसिर ५ गते दिउँसो १२ बजेदेखि मंसिर ८ गते दिउँसो १२ बजेसम्म सम्बन्धित क्षेत्रमा मदिरा बिक्री, वितरण तथा सेवन गर्न पूर्ण रोक लगाउने निर्णय गरिएको छ ।

यस्तै भक्तजनको आवतजावतलाई सहज बनाउन मंसिर ६ गते दिउँसो २ बजेदेखि मंसिर ७ गते बिहान ६ बजेसम्म चैतलीचौरभन्दा भित्र भक्तजन ओसारपसार गर्ने सवारीसाधन प्रवेशमा रोक लगाइने निर्णय भएको उनले बताए ।

सोही अवधिमा राजमार्गमा लामो दूरीका सवारीसाधनबाहेक अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, प्रहरी, स्वास्थ्य, सरसफाइ तथा खानेपानीका ट्याङ्करबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा समेत रोक लगाइने निर्णय गरिएको छ ।

जात्रा अवधिमा घरेलु हातहतियार तथा कानुनद्वारा प्रतिबन्धित सामग्री नबोक्न, होहल्ला, झैझगडा, गालीगलौज तथा सार्वजनिक सम्पत्ति र मन्दिर परिसरमा क्षति पुग्ने गतिविधि नगर्न गाउँपालिकाले अपिलमार्फत आग्रह गरेको छ ।

त्यस्तै, व्यक्तिगत तथा सामूहिक पूजाआजा, दमाहा बाजा लगायतका झाँकी तथा सांस्कृतिक प्रस्तुति गर्दा प्रचलित परम्परा रीतिरिवाजको पालना गर्नुपर्ने उल्लेख गरिएको छ । कुनै श्रद्धालु भक्तजनलाई समस्या परेमा सहायता कक्ष, हेल्पडेस्क वा नजिकै रहेका सुरक्षा कर्मचारीलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

यसैगरी शिखर धाममा लाग्ने पवित्र शिखर पूजन जात्रामा सहभागी हुने भक्तजनलाई ढाेलिबस्ता क्षेत्रभन्दा माथि मोबाइल, क्यामेरा लगायतका डिजिटल सामग्री प्रयोग गरी फोटो तथा भिडियो खिच्नसमेत निषेध गरिएको छ । पूजाआजामा प्रयोग भएका सामग्री जथाभावी नफाल्न र मन्दिर परिसरमा फोहोर नगर्न पनि आग्रह गरिएको छ ।

मन्दिर परिसरभित्र होटल सञ्चालन, मांसाहारी परिकार तथा फास्टफुड बिक्रीमा रोक लगाउने निर्णयसमेत गरिएको छ । जात्रालाई शान्तिपूर्ण बनाउन गाउँपालिका, मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले जारी गरेका निर्देशन र आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबैलाई आग्रह गरिएको छ ।

मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीद्वारा हस्ताक्षरित अपिलमा परम्परागत लोकसंस्कृति, दमाहा बाजा, देउडा, ठाडोखेल लगायत स्थानीय संस्कृतिको मर्यादा कायम राख्दै सभ्य, सुरक्षित र सद्भावपूर्ण वातावरणमा पर्व मनाउन सम्पूर्ण भक्तजन, व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार