दार्चुला । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको भारत–नेपाल सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी भित्र मतभेद देखिएको भारतीय सञ्चारमाध्यमले दाबी गरेको छ । पार्टी सभापति भारत भ्रमणमा निस्कनुअघि संसदमा दिएको अभिव्यक्ति पछि पार्टी भित्र विवाद भएको दाबी गरिएको छ ।
सोमबार मात्रै नयाँ दिल्ली ओर्लिएका पार्टी सभापति लामिछानेलाई नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा भव्य स्वागत गरिएको घटनाले राजनीतिक र कूटनीतिक चर्चा चुलिएको छ।

भाजपा कार्यालयमा रवि लामिछानेलाई फूलवर्षासहित स्वागत गरिएको थियो। भाजपा नेता नितिन नवीनले उनलाई गुलदस्ता प्रदान गर्दै सम्मान व्यक्त गरेका थिए।


आरएसपीका केही नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको “नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको छ” भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनीहरूले उक्त अभिव्यक्ति फिर्ता लिन र संसदमार्फत राष्ट्रसँग माफी माग्नुपर्ने धारणा राखेका छन्।
यद्यपि, प्रधानमन्त्री निकट नेताहरूको अर्को समूहले भने यस्तो मागको विरोध गरिरहेको बताइएको छ । प्रधानमन्त्रीको यो सम्बोधनपछि नेपालको सडक सदन र सामाजिक सञ्जालमा बहस चुलिएको छ । हरेक दिन प्रधानमन्त्री कि राजीनामा कि त माफी माग्नुपर्ने बहस उठेको छ । सदन अवरुद्ध हुँदै आएको छ । यता नेपालमा हंगामा मच्चिरहँदा सभापति सिधैं दिल्ले उडेर भव्य सम्मान पाइरहेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूले रवि लामिछानेको दिल्ली भ्रमण र भाजपा मुख्यालयमा भएको विशेष स्वागतलाई सामान्य राजनीतिक भेटघाटभन्दा बढी अर्थपूर्ण रूपमा व्याख्या गरेका छन्। उनीहरूको दाबीअनुसार, भारतले नेपालका वैकल्पिक तथा परिवर्तनमुखी राजनीतिक शक्तिहरूसँग सम्बन्ध विस्तार गर्न खोजिरहेको संकेत यस घटनाले दिन्छ।
समाचारमा बालेन्द्र शाहले हालसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेट नगरेको, भारतका विदेश सचिव विक्रम मिस्रीलाई भेट्ने समयसमेत नदिएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा रवि लामिछानेलाई दिएको सम्मानलाई बालेन शाहप्रति अप्रत्यक्ष सन्देशका रूपमा पनि हेरिएको छ।
सीमा विवाद र राजनीतिक बहस
बालेन्द्र शाहको अभिव्यक्तिले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी नेपालको ऐतिहासिक दाबी कमजोर बनाएको भन्दै पार्टीका केही नेताहरू असन्तुष्ट रहेको समाचारमा उल्लेख छ। रवि लामिछानेले भने आफ्ना पार्टी नेताहरूलाई यस विषयमा सार्वजनिक टिप्पणी नगर्न निर्देशन दिएका बताइएको छ। तथापि, केही नेताहरूले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको भनाइप्रति असहमति जनाएका छन्।
यहि विषयमा नेपालका विपक्षी दिलहरुले निरन्तर सदनमा यो विषय उठाइरहेका छन् । प्रधानन्त्री जस्तो पदमा पुगेको व्यक्तिले सीमाको विषयमा बोल्नुको अर्थ नेपालको दाबी कमजोर हुने तर्क छ ।
भारत–नेपाल सम्बन्धमा नयाँ समीकरण
विश्लेषकहरूका अनुसार भारत अब परम्परागत रूपमा नेपाली कांग्रेस वा एमालेजस्ता दलसँग मात्र सीमित नरही नेपालका नयाँ राजनीतिक शक्तिहरूसँग पनि सम्बन्ध सुदृढ गर्न चाहन्छ। मार्च २०२६ को निर्वाचनपछि आरएसपी नेपालकै प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको उल्लेख गरिएको छ।
समाचारमा रवि लामिछानेले भारत–नेपाल सीमा विवादलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा वार्ताबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरेको तथा डिजिटल प्रविधि, जलविद्युत् र आर्थिक सहकार्यलाई प्राथमिकता दिएको उल्लेख छ। यसै कारण केही विश्लेषकहरूले रवि लामिछाने नेपाल र भारतबीचको सम्बन्ध सुधार्ने पुलका रूपमा भूमिका खेल्न सक्ने अनुमान गरेका छन्।
नवभारत टाइम्सको सहयोगमा तयार पारिएको







