काठमाण्डौ – मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा घर भत्काउन शुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना हिजोदेखि भत्काउन शुरु गरिएको हो ।
मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर र स्थानीयवासीको बैठकमा भएको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिका लागि घर भत्काउन थालिएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् स्थानीयवासी बैकुण्ठनाथ मिश्रले बताउनुभयो ।
सडक विस्तार योजना (पूर्वीखण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले दमौली बजारमा घर भत्काउन थालिएसँगै अब बजार क्षेत्रमा काम तीव्र हुने बताउनुभयो । उहाँका अनुसार दमौली बजारका ७४ वटा घर भत्काइनेछ । मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको पनि पाण्डेले बताउनुभयो ।
पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भइ २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो । झण्डै ४२ किलोमिटर यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । यो खण्डको म्याद २०८१ साल वैशाखसम्म रहेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको पश्चिम खण्डका इन्जिनियर एवम् सूचना अधिकारी नारायण पौडेलले जानकारी दिनुभयो ।