करिडोर–टिंकर सडकसहित दार्चुलाका विकास योजनामा आर्थिक मामिला मन्त्री मल्लकाे चासो

दार्चुला — सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकाससँग सम्बन्धित विषयमा छलफल गर्दै दार्चुलाका जनप्रतिनिधिले जिल्लाका सडक, पर्यटन, सिँचाइ, विपद् व्यवस्थापन तथा वित्तीय हस्तान्तरणलाई प्राथमिकतामा राख्न माग गरेका छन् ।

नेकपा एमालेका नेता तथा पूर्व केन्द्रीय सदस्य हरदेव जोशीको नेतृत्वमा आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्ल सँग भएको छलफलमा दार्चुलाका स्थानीय तहका जनप्रतिनिधिले स्थानीय सरकारले सिफारिस गरेका र आवश्यकतामा आधारित योजनालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताएका हुन्। विशेषगरी महाकाली करिडोरअन्तर्गत टिंकर सडक निर्माणलाई गति दिन तथा सडकको ट्र्याक खोल्ने कामलाई प्राथमिकतामा राख्न माग गरिएको छ।

विगतकोजस्ताे आक्षेप लाग्ने गरि याेजना कार्यान्वयन गर्नु भएन नेता जाेशीले भने, अहिलेकाे बजेटले सबै क्षेत्रकाे भावना समेट्ने गरी आउनुपर्छ ।

त्यस्तै, दार्चुलाको धार्मिक तथा पर्यटकीय सम्भावनालाई उपयोग गर्ने गरी मालिकार्जुन धार्मिक पर्यटन सर्कल निर्माण गर्नुपर्ने मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए ।

मालिकार्जुन–भगवती–थाप्ला सडकलाई आपसमा जोडेर धार्मिक तथा पर्यटकीय मार्गका रूपमा विकास गर्न सकिने उनको भनाइ छ। उकु महलका भग्नावशेषलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको छ।

सडक पूर्वाधारतर्फ ग्रामीण तथा दुर्गम क्षेत्रमा सडकको ट्र्याक खोल्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने माग गरिएको छ।

जनप्रतिनिधिले स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको बजेट समयमै उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन्। विपद् व्यवस्थापन, साना तथा अत्यावश्यक पूर्वाधार निर्माणलगायतका कामका लागि स्थानीय तहलाई आवश्यकताका आधारमा खर्च गर्न सक्ने गरी डल्लो वित्तीय हस्तान्तरणको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ।

महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिरले स्थानीय तहका मागमा आधारित योजना छनोट र बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। स्थानीय आवश्यकता र जनताको प्राथमिकताका आधारमा योजना निर्माण भए मात्र विकास प्रभावकारी हुने उनको भनाइ थियो।

व्यास गाउँपालिका अध्यक्ष मंगलसिह धामीले तिंकर सडक निर्माण देखि व्यास ऋषिकाे मूर्ति निर्माण गर्नुपर्ने माग राखे ।
लेकम गाउँपालिका अध्यक्ष रामदत्त जाेशीले स्थानीय स्वास्थ्य शिक्षा तथा पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने बताए ।

छलफलमा मन्त्री मल्लले बजेट विनियोजनका विषयमा साझा सहमति गरेर कार्यान्वयन गरिने बताए ।

छलफलमा महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर, शैल्यशिखर नगरप्रमुख विजय सिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, दुहुँ गाउँपालिका प्रवक्ता देवबहादुर बम, व्यास गाउँपालिका प्रवक्ता उपेन्द्र धामी तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश लेखा समिति संयोजक सामन्तलगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

ताजा समाचार