दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सहप्रवक्ता एवं सूचना अधिकारी देवेन्द्र सिंह बुढाथोकीका अनुसार दर्ता भएका मुद्दाहरूमा ज्यानसम्बन्धी ६, आत्महत्यासम्बन्धी २, सङ्गठित तथा आर्थिक अपराध २, सामाजिक अपराध २, महिला तथा बालबालिकासम्बन्धी २ र अन्य १ वटा रहेका छन्।

प्रहरीका अनुसार अपराध तथा अनुसन्धानतर्फ झुण्डिएर आत्महत्याका दुई, लागूऔषधसम्बन्धी दुई र जबर्जस्ती करणीसम्बन्धी एक घटना दर्ता भएका छन्। साउनमा भएका आत्महत्याका दुवै घटना बालबालिकासँग सम्बन्धित रहेका छन्।

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ १२ वटा उजुरी परेका छन्, जसमा उमेर समूहका आधारमा १९–२५ वर्षका दुई, २६–४५ वर्षका एक र ४६–५९ वर्षका एक जना पीडित रहेका छन्।

यसैगरी, घरेलु हिंसाका ११ वटा उजुरी परेकोमा ती सबै उजुरी मिलापत्रमार्फत टुङ्ग्याइएको छ। प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा परेका १५ वटा ठाडो उजुरीहरू पनि शतप्रतिशत फर्छ्यौट भएका छन्।
साउन महिनामा जिल्लाबाट १० जना हराएकाेमा सात जना फेला परेका छन्।
लागूऔषध र अवैध मदिरा नियन्त्रणमा कडाइ
दार्चुला प्रहरीले साउन महिनामा लागूऔषध नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर जिल्लाका विभिन्न स्थानमा १४ पटक विशेष अभियान सञ्चालन गरेको छ।
अभियानका क्रममा आफैँ उम्रिएका करिब १ हजार ६ सय ८० गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटमार्फत दैनिक चेकजाँच र सोधपुछ बढाएर दुर्व्यसन नियन्त्रणको काम भइरहेको प्रहरीले जनाएको छ।
साथै, अवैध मदिरा नियन्त्रणतर्फ गरिएका दुईवटा कारबाहीमा विभिन्न ब्रान्डका मदिराका साथै ५५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ।
१२५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन
अपराध न्यूनीकरण, लागूऔषध नियन्त्रण, आत्महत्या रोकथाम र व्यक्तिगत सुरक्षालाई ध्यानमा राखेर प्रहरीले साउनमा १२५ वटा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। जसमा समुदाय केन्द्रित ११७ र विद्यालय केन्द्रित आठ वटा कार्यक्रम रहेका छन्।











