महाकाली नदिमा हाम फालेका खत्री अझै बेपत्ता, जाहेरी दर्ता नभएको परिवारको गुनासो

दार्चुला । महाकाली नदीमा हाम फालेका दार्चुलाको लेकम गाउँपालिका–६ सिरोडाका २७ वर्षीय सुनील खत्री एक सातादेखि बेपत्ता छन्। भारतको दिल्लीमा रोजगारी गर्दै आएका खत्रीले गत शुक्रबार भारततर्फ रहेको पुलबाट महाकाली नदीमा हाम फालेपछि उनको अवस्था अझै अज्ञात रहेको हो।

नदीमा हाम फाल्नुअघि भारतीय स्थानीयवासीले उनलाई पुलबाट नहाम फाल्न पटक–पटक आग्रह गरे पनि केही समयपछि उनी नदीमा हाम फालेको परिवारले जनाएको छ।

गत मङ्सिरमा विवाह गरेका खत्री विवाहको करिब एक महिनापछि रोजगारीका लागि भारत गएका थिए। परिवारका अनुसार पछिल्लो समय वैवाहिक सम्बन्धमा तनाव र श्रीमतीसँग मनमुटाव थियो। खत्रीकी दिदी दीपा धामीले पारिवारिक तनावका कारण भाइले यस्तो कदम चालेको हुन सक्ने बताइन्।

खत्रीको परिवारले उनकी श्रीमती विमला भाट खत्रीमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेको छ। खत्री र विमलाबीच भएको टेलिफोन संवाद तथा सम्बन्धमा आएको खटपटसम्बन्धी विषय सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको भन्दै परिवारले आत्महत्या दुरुत्साहनको कोणबाट अनुसन्धान गर्न माग गरेको हो।

परिवारका सदस्यले विमलाविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले दर्ता नगरेको गुनासो गरेका छन्। बेपत्ता खत्रीकी बुहारी सपना शाह खत्रीका अनुसार लगातार तीन दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेर जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न नमानेको हो।

´एकातिर खोजी कार्य रोकिएको छ, अर्कोतिर जाहेरीसमेत दर्ता गरिएको छैन। यसले हामीलाई झन् पीडा थपिएको छ,´ उनले भनिन्।

विमला जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी जवान पदमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरेश सिंहले बताए। उनका अनुसार विमला अहिले बिदामा छिन्। कञ्चनपुर प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएमा सोहीअनुसार सहयोग गरिने उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने खत्रीको अवस्था अझै अज्ञात रहेकाले तत्काल जाहेरी दर्ता गर्न नमिल्ने जनाएको छ। कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार खत्रीको खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र विपद् उद्धार टोली परिचालन भए पनि चार दिनसम्म खोजी गर्दा फेला पार्न सकिएन।

प्रहरीसँग आवश्यक खोजी सामग्रीको अभाव तथा खत्री भारततर्फको भूभागमा बेपत्ता भएकाले खोजी र कानुनी प्रक्रिया अघि बढाउन कठिनाइ भएको गिरीले बताए। हाल खोजी कार्यसमेत स्थगित गरिएको उनको भनाइ छ।

स्थानीयवासीले भने खत्रीलाई आत्महत्या गर्न बाध्य बनाइएको आरोपबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्। परिवारले उठाएका प्रश्नमाथि अनुसन्धान अघि नबढाइए न्यायका लागि आन्दोलनमा उत्रिने चेतावनीसमेत स्थानीयवासीले दिएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार